असोज ४, २०७९
चाैतारा । सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर जबरा यसपटक समानुपातिकमा बसेका छन् ।
राप्रपाले सोमवार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा छ ।
राणाले पञ्चायतको समयदेखि गणतन्त्रसम्म सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका थिए । २०५६ सालमा चुनाव जिते पनि त्यसयता उनी पराजित हुँदै आएका थिए तर पनि उनले चुनाव लड्ने हिम्मत जारी राखेका थिए ।
२०६४ सालको चुनावमा माओवादी उम्मेदवारसँग पराजित राणा २०७४ सालमा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । २०७४ सालमा राणालाई कांग्रेसले समर्थन गरेको थियो ।
‘उमेर र स्वास्थ्यका कारण पनि उहाँले प्रत्यक्षमा चुनाव लड्न चाहनुभएन,’ राप्रसा स्रोतले भन्यो ।
२०७४ सालमा माओवादीको साथ पाएर चुनाव जितेका तामाङ यसपटक पनि एमालेको तर्फबाट चुनाव लड्दैछन् । सिन्धुपाल्चोक–२ मा कांग्रेसको बलियो उम्मेदवार फेला परेको छैन ।
सिन्धुपाल्चोक–१ मा सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहन बस्नेतको हानथाप परेका कारण २ कांग्रेस या माओवादी कसले पाउने भन्ने टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस