२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ?

  • २०७९ भाद्र १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • भदौ १४, २०७९

    चाैतारा । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचारसंहिता सार्वजनिक भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो ।

    आचारसंहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । सार्वजनिक आचारसंहिताअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा खर्च गर्नुपर्ने अनुमानित रकम र स्रोत खुलाउनुपर्ने भएको छ ।

    उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाट छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ । राजनीतिक दलको हकमा पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गुर्नुपर्नेछ ।

    २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने छ । त्यस्तै उम्मेदवारले मनोनयन दर्ता गर्दा चलअचल सम्पत्तिको विवरण खामबन्दी गरेर बुझाउनुपर्ने छ । पहिले चल सम्पत्तिको विवरण मात्र बुझाउनुपर्ने थियो ।

    त्यस्तै मनोनयन र प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी पार्टीको झन्डा बोक्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चिह्नसहितका बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न नपाइने आचारसंहितामा उल्लेख छ ।

    तर दलले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा भने आयोगले तोकेबमोजिमका दस–दस वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइनेछ । संघ सरकार, प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने आचारसंहितामा उल्लेख छ ।

    निर्वाचनमा आफै उम्मेदवार हुने प्रधानमन्त्री र मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउनेछन् । प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधन भने प्रयोग गर्न पाइने छैन । त्यस्तै मनोनयन दर्ता र प्रचारप्रसारमा २५ जनाभन्दा बढी जान नपाइने आचारसंहितामा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस