भदौ ७, २०७९
चाैतारा । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुन सकेको छैन। यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन्।
मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो।
यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या छ। बाढी आएको यतिका समय बितिसक्दासमेत दिगो हिसाबले कुनै पनि काम नहुँदा गुनासो गर्छिन् मेलम्चीकी तारा बानियाँ। पुल नहुँदा गर्भवती, बिरामीलाई धेरै समस्या रहेको पाँचपोखरी भोताङका निमा तामाङले बताए।
गत वर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा अस्थायीरूपमा ह्युमपाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो। यस वर्ष पनि दशैँअगावै पुनः ह्युमपाइप हाल्नुपर्ने बजारवासीको माग छ।
मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर धितालले अस्थायी संरचनाभन्दा पनि स्थायीरूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए।
मेलम्ची नगर पालिकाले पनि स्थायी संरचना बनाउन प्रदेश र सङ्घ सरकारको पटक–पटक ध्यानाकर्षण गराएको जनाएको छ। तत्कालका लागि ह्युमपाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।
बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्त व्यक्तिले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म काम हुन सकेको छैन। बाढी प्रभावितलाई आश्वासन नभएर राहत चाहिएको सरोकारवाला निकायले बुझ्न आवश्यक छ।
प्रतिक्रिया दिनुहोस