२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

गठबन्धनमा प्रारम्भिक प्रस्ताव : सिन्धुपाल्चोक-१ माओवादीलाई, २ कांग्रेसलाई !

  • २०७९ भाद्र ४, शनिबार मा प्रकाशित २ साल अघि
  • भदौ ४, २०७९

    चौतारा । सत्ता गठबन्धनले आगामी निर्वाचनको लागि भागबण्डाको प्रयास गरिरहेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठबन्धनको कार्यदलले काम गरिरहेको छ।

    गठबन्धनभित्र सिन्धुपाल्चोक जिल्लाको भागबण्डालाई लिएर मतभेद भइरहेको छ। विभिन्न विकल्पसहित छलफल भइरहेको गठबन्धनमा प्रतिनिधि सभाको दुई क्षेत्रमध्ये कांग्रेस र माओवादीले एक एक सिट लिने प्रारम्भिक प्रस्ताव गठबन्धनमा छ।

    गठबन्धनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को भाग मिलाउन मुस्किल परेको छ। नेकपा माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा र नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको निर्वाचन भएकाले भागबण्डा मिलाउन गठबन्धनलाई मुस्किल परेको हो।

    सिन्धुपाल्चोक १ मा गठबन्धनभित्र नेकपा माओवादी केन्द्रबाट सापकोटा र काँग्रेसबाट बस्नेत बाहेक अरु नेताले दाबी गर्ने अवस्था छैन । तर, गठबन्धन हुने भएमा उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्र वा काँग्रेसमध्ये कसले उम्मेदवारी दिने भन्नेमा प्रतिस्पर्धा हुने भएको छ ।

    ‘सभामुख भएकाले राजनीतिक गतिविधि र कार्यक्रममा हिँड्न पाइदैन । अरु जिल्लाको सामाजिक कार्य र विकास निर्माणको कार्यमा सक्रिय हुनुहुुन्छ,’ सभामुख सचिवालयका एक सदस्यले भने, ‘तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा लड्ने भनेर तयारी गरिरहनु भएको छ । अरु राजनीतिक भेटघाट र छलफल जारी राख्नु भएको छ ।’

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को विश्वास पात्र भएकाले पनि सभामुख सापकोटाले गठबन्धनबाट टिकट पाउने बलियो सम्भावना छ । तर काँग्रेसका नेता बस्नेतले गठबन्धनबाट चुनाव लड्ने भनेरै गतिविधि जारी राखेका छन् । यदि पार्टीले गठबन्धनबाट आफूलाई उम्मेदवार नबनाए आफू बागी उठ्ने उनको चेतावनी छ ।

    यसअघि पार्टीको केन्द्रीय समिति बैठकमा बस्नेतले पार्टीले टिकट नदिए बागी उठ्ने बताइसकेका छन् । बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट भएकाले उनी समेत सशक्त दाबेदार हुन् । त्यसैले सिन्धुपाल्चोक १ बाट आगामी चुनावमा सापकोटा र बस्नेतमध्ये गठबन्धनबाट कसले टिकट पाउँछन् भन्नेमा कौतुहलता बढेको छ ।

    यसअघि २०७४ सालको चुनावमा सापकोटाले बस्नेतलाई फराकिलो मत अन्तरले हराएका थिए । सापकोटा एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार भएका थिए भने बस्नेत एकल रुपमा चुनावमा उठेका थिए ।

    सापकोटा ४० हजार ५०४ मत ल्याएर निर्वाचित हुँदा बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याएर पराजित भएका थिए । सापकोटा र बस्नेतको मत अन्तर १० हजार ७१० थियो ।

    तर, गठबन्धन कार्यदल एक सदस्यका अनुसार सिन्धुपाल्चोक १ माओवादीलाई दिएर क्षेत्र नम्बर २ कांग्रेसलाई दिन शीर्ष नेतृत्व सकारात्मक भएका छन्।

    ‘सभामुखले गठबन्धनलाई ठुलो सहयोग गर्नुभएको छ। त्यसैले शीर्ष तहबाटै सिन्धुपाल्चोक १ उहाँलाई दिनसक्ने देखिएको छ। तर, अन्तिम यही नहुन सक्छ’ गठबन्धन कार्यदलका एक नेताले भने।

    नेता बस्नेत देउवा निकटका भएकाले उनको व्यवस्थापनमा पनि देउवाले चासो देखाएको ती नेताको भनाइ छ।

    कांग्रेस र माओवादीबीच एक–एक सिटमा सहमति जुटाउन सकिनेमा कांग्रेसको पनि बुझाइ छ।

    त्यसो त कांग्रेसका पूर्वजिल्ला सभापति विकास लामाले पनि सिन्धुपाल्चोक २ कांग्रेसले नछाड्ने चेतावनी दिइरहेका छन्।

    यद्यपी, गठबन्धनमा शीर्ष तहमै भागबण्डाको प्रयास भइरहे पनि माओवादीले एमालेसँग पनि निरन्तर वाम तालमेलको बारेमा छलफल गरिरहेको छ। ०७४ सालको निर्वाचनमा पनि वाम तालमेलपछि दुई प्रतिनिधि र ४ प्रदेशसभामा रहेको सिन्धुपाल्चोकका प्रदेशको १ सिट मात्रै कांग्रेसले जितेको थियो।

    यता, वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पनि केन्द्रिय गठबन्धनको सर्कुलर अनुसार तालमेल भएको थिएन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस