साउन १६, २०७९
चौतारा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आगामी निर्वाचनबाट माओवादी केन्द्र दोस्रो हुने दाबी गरेका छन्।
पाँच दलीय गठबन्धनलाई अगाडि लगेपछि आफूहरु कम्युनिष्ट पार्टीको पहिलो शक्ति बन्ने बताएका हुन्।
‘गठबन्धन गर्ने भएपछि एकले अर्कोलाई सहयोग गरेरै जाने हो । एकल रूपमा आ–आफ्नो स्थान छँदैछ । काँग्रेस पहिलो हुने देखिएकै छ । गठबन्धन नहुँदा माओवादी तेस्रो भइहाल्छ । काँग्रेस बैठकमा माओवादीले ७/८ सीटभन्दा बढी जित्न सक्दैन भनेर छलफल भयो भन्ने सुनेको छु’ उनले भने, ‘त्यो विल्कुल सही होइन । हामी एकल रूपमा प्रतिस्पर्धा गर्दा तेस्रो त्यसै हुन्छौँ । तेस्रोबाट कसैले झार्न सक्दैन।’
गठबन्धन गरेर काँग्रेस पहिलो हुने र माओवादी तेस्रो हुने कुनै हालतमा ठिक नहुने उनको भनाइ छ।
‘सीटमा थोरै तलमाथि होला । तर गठबन्धन गर्दा तेस्रो हुने हो भने किन तालमेल गर्ने? त्यसैले हामी दोस्रो हुँदामात्रै गठबन्धन ठिक ढंगबाट अघि बढ्छ । नभए हामीले गठबन्धन गरेको औचित्य हुँदैन’ उनले भने।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा काँग्रेसले राम्रोसँग नसघाउँदा माओवादी तेस्रो उनको बुझाइ छ। काँग्रेसले राम्रोसँग सघाएको भए दोस्रो हुने दाबी गरे। अब गठबन्धन हुँदा दोस्रो हुनेगरी जाने माओवादीको रणनीति भएको बताए।
उनले भने, ‘२०७४ को निर्वाचनमा बागमती प्रदेशमा प्रतिनिधिसभामा कुल ३२ सीटमा एमालेसँग तालमेल गर्दा माओवादीले ६ सीट जितेको थियो । प्रदेशसभामा १५ सीट जितेको थियो । त्यतिबेला पनि माओवादी तेस्रो शक्ति थियो । गत वैशाख ३० गतेको स्थानीय चुनावमा कुल ११९ पालिकामध्ये २७ प्रमुख र ३० उपप्रमुख जितेको छ ।’
प्रतिक्रिया दिनुहोस