साउन १२, २०७९
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे विद्यार्थीले ग्रेडवृद्धिका लागि श्रावण २७ गते सम्म निवेदन दिन सूचित गरेको छ।
बुधबार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा प्रक्रिया पूरा गरी निवेदन दिन सक्ने जनाएको हो।
विद्यार्थीले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा वा बोर्डको परीक्षा नियन्त्रण कार्यालयमा साउन २७ सम्म तोकिएको ढाँचामा निवेदन दिन सक्ने बोर्डले सूचनामार्फत जनाएको छ।
विद्यार्थीले निवेदन दिदाँ प्रति विषय रु ५०० (पाँच सय) का दरले हुने रकम राजश्व खाता नं १४२२३ मा जम्मा गर्नुपर्ने, निवेदनको ढाँचा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले तोके बमोजिम हुनुपर्ने बार्डले जनाएको छ।
निवेदन फाराम साथ निम्न विद्यार्थीले एसईई परीक्षा २०७८ को ग्रेडसिट वा ग्रेड लेजरको प्रतिलिपी, प्रवेश पत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ। विद्यार्थीले तल रहेको फारम डाउन लोड गरी भरेर इकाइमा बुझाउन पनि सक्नेछन्।
प्रतिक्रिया दिनुहोस