असार २५, २०७९
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै संचालन गर्न युवाहरूलाई आग्रह गरेका छन्।
सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै संचालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन्।
उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।
‘लैगिक असमानताका विरुद्धमा तपाईँले हाम्रै देशको स्थानीय तहलाई राम्रोसँग अध्ययन गर्नु भयो भने पनि देखिन्छ। मैले भन्नु पर्दैन। काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरूले के देखाएको छ त भन्दाखेरी विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन्। यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालीन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन’ उनले भने, ‘यो कुरा नेपालका राजनीतिक पार्टीहरुले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरुले, हामी सबैले बुझ्न सकेनौँ, मैले आफैंलाई पनि भन्दैछु । किनभने म तीन अंग मध्ये एउटा अंगको नेतृत्वमै छु । हामीले त्यो संकेत बुझेनौ भने, त्यो इसारा बुझेनौँ भने फेरी अर्को पहलकदमी अगाडि आउने स्थिति छ।’
युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए।
हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरूले अघि बढन जरुरी रहेको समेत बताए।
‘फेरी हाम्रो अगाडि संघीय संसदको चुनाव पनि हुँदैछ। त्यसैगरी प्रदेशसभाहरूको पनि चुनाव हुँदैछ। त्यस अर्थमा पनि तपाईहरुले यो गर्ने अभ्यास त्यो चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा मात्रै होइन, सही, असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि तपाईंहरुको यो अभ्यासले कहीँनकहीँ एउटा महत्वपूर्ण योगदान गर्ने छ भन्ने मलाई विश्वास लागेको छ। त्यही दिशामा तपाईहरुले छलफल गर्दा, बहस गर्दा अहिले चुनावमा देखिने विकृति, विसंगतिहरु अव सबभन्दा डर लाग्दो कुरा त तपाईँहरुले पनि थाहा पाइराख्नु भएको छ। यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा। त्यो भनि साध्य छैन’ उनले भने।
‘हामी त्यसमा पहलकदमी लिन तत्पर छौं कि छैंनौं? हामी पहलकदमी लिने कुराको चाँही महत्व, त्यसको आत्मबोध गर्न सक्षम छौं कि छैनौं? त्यो आत्मबोध गर्ने दिशातिर अघि बढन तपाईहरु लाग्नु हुनेछ। र, फेरी पनि म दोहो¥याएर भन्छु–जोड दिएर भन्छु–युवा साथीहरु, विचार भन्दा ठूलो दुनियाँमा केही पनि छैन। विचारले नै हामीलाई जीवनको अन्मित घडीसम्म ठाडो शीर लगाएर स्वाभिमान पूर्वक बाँच्न सिकाउने हो।’
निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे। उनले शिर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस