असार ९, २०७९
चाैतारा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयको सुनुवाइ नभएको गुनासो गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूले गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गराएको दुई वर्ष पाँच महिना १६ दिन बितिसक्दा समेत छलफलका लागि पेस नभएको बताए ।
‘गैरसरकारी विधेयक दर्ता गराउन पाउने अधिकार सांसदलाई छ । मैले यस संसद्मा गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गरेको थिएँ । विधेयक दर्ता भएको चार दिनभित्र कपी सबै मानन्यहरूलाई वितरण गर्नुपर्ने नियम छ । सात दिन कटेपछि छलफलमा ल्याउनुपर्ने हो’ उनले भने।
‘यो विधेयक अब सूचीमा आउने कि नआउने ? विधेयक दर्ता गराएको दुई वर्ष पाँच महिना १६ दिन बितिसक्यो । नियम मेरो हकमा लागु भएन । म कहाँ भन्न जाऊँ ? मेरो आवाज त सुनुवाइ भएन भने जनताको आवाज कसले सुन्छ ?’
प्रतिक्रिया दिनुहोस