२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

अर्बौको लगानी जोगाउन वर्षामा मेलम्चीको सुरुङ बन्द गरेका हौँ : मन्त्री चौधरी

  • २०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित २ साल अघि
  • जेठ ३१, २०७९

    चाैतारा । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षार्थ वर्षा यामसम्मका लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले उक्त स्पष्टीकरण दिएका हुन्।

    जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव र सो स्थानमा जडित पूर्व चेतावनी प्रणाली, विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा उक्त आयोजनाको पानी काठमाडौं ल्याउन वर्षा यामसम्मका लागि बन्द गरिएको जानकारी गराए।

    वर्षायाम सकिनेबित्तिकै उक्त आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको बताए। यस अवधिमा काठमाडौंवासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पथान्तर गर्ने, केयूकेएलअन्तर्गतका बोरिङहरूको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरू भइरहेको उनको भनाइ थियो।

    काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताए।

    काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाइपलाइन सञ्जाल विस्तारको काम भइरहेको पनि बताए। उनले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोही अनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पटकपटक दोहोर्‍याए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस