जेठ २८, २०७९
चाैतारा । उच्च अदालत पाटनले कृषि सामग्री कम्पनीले गरेको सिल्क सिनोम्याच ग्लोबल म्याटिक विध जेभीसँग मल ल्याउने ठेक्का रद्दको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ ।
१९ जेठमा उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । समयमा मल नल्याएको भन्दै कृषि सामग्रीले सम्झौता तोडेपछि सिल्क सिनोम्याच रिट निवेदन लिएर उच्च अदालत पुगेको थियो ।
मल आयात गर्ने जिम्मा पाएको कम्पनीले काबुबाहिरको परिस्थितिका कारण समयमा मल आयात गर्न नसकेकाले त्यस आधारमा सम्झौता भंग गर्न नमिल्ने अदालतको आदेशमा उल्लेख छ ।
रिटको अन्तिम टुंगो नलागेसम्म मल ल्याउने ठेक्का रद्द नगर्न आदेश दिएको हो । तातोपानी भन्सार कार्यालयमा रोकिएको भनिएको मल र सम्झौताअनुसार झिकाउनुपर्ने परिमाणको मलसमेत नेपाल भित्र्याउन सहजीकरण गर्नू–गराउनू भनेर अदालतले अन्तरिम आदेश दिएको छ ।
एक महिनादेखि तातोपानी नाकामै पाँच सय टन मल
नेपालका लागि आयात गरिएको करिब पाँच सय मेट्रिकटन रासायनिक मल भने एक महिनादेखि तातोपानी भन्सारमै थन्किएर बसेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले रासायनिक मल ल्याउने ठेक्का प्राप्त गरे । सरकारी नियमानुसार मंसिरमा आयात गर्न चारवटै कम्पनी सम्मिलित जेभी ग्रुपले चीनको छिङ्हाई सहरमा पुगेर २५ हजार मेट्रिकटन मल अर्डर गर्यो ।
भूकम्पपछि चीनबाट नेपालका लागि सामान आयात गर्दै आएको सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले पहिलोपटक मल ल्याएको थियो । दोस्रो टेन्डर आह्वान भएपछि सिल्कसहित अन्य तीन कम्पनीलाई पनि मल आयात गर्ने टेन्डर पर्यो । चीनबाट सामान आयात गर्दै आएको सिल्क कम्पनीले छिङ्हाई सहरमा पुगेर मल अर्डर गर्यो । सिल्क कम्पनीसँग ढुवानी गर्ने आफ्नै कन्टेनर छन् ।
चार कम्पनीमध्ये चिनियाँ क्षेत्रमा पर्ने सबै कामको जिम्मवारी सिल्कले लियो । सिल्क मार्केटले मल आयातमा आफ्नो मात्र मनोमानी गरेको तथा सरकारी निकायसँग मिलेमतो गरेको भन्दै अन्य तीन कम्पनीसँग विवाद हुन थाल्यो । चिनियाँ बजारमा परिचित सिल्कले जेभी गरेका कम्पनीलाई तर्साउन र आउँदा वर्षहरूमा मलको व्यापारमा हात नहालोस् भन्ने उद्देश्यले सहयात्री तीन कम्पनीलाई ठेक्का सम्झौता भएको दिनदेखि नै दुःख दिएको एक कम्पनीका सञ्चालकले बताए ।
सिल्ककै कुरा सुनेर तातोपानी आइपुगेको मल काठमाडौं नल्याई ठेक्का तोेड्न सरकारी निकाय लागेको उनको आरोप छ । तर, मल ल्याउन ढिला गरेको र सम्बन्धित कम्पनीले एलसी नखोलेकाले कृषि सामग्री कम्पनीले ठेक्का तोडेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले बताए । जेभीका आधिकारिक प्रतिनिधि भीमकान्त भण्डारीले भने सरकारी असहयोगका कारण चिनियाँ क्षेत्रमा रहेको दुई लाख बोरा मल पनि अलपत्र परेको गुनासो पोखे ।
फागुनमै आउनुपर्ने मल ढिला गरेर जेठको सुरुमा खासाबाट तातोपानी आइपुगेपछि आयात गर्ने कम्पनीहरूबीच विवाद सुरु हुन थाल्यो । त्यही समयमा मल भन्सारमा आइपुगेपछि कृषि सामग्री कम्पनीले १० जेठमा एकाएक ठेक्का तोडेको घोषणा गर्यो । कम्पनीको यस्तो निर्णयले लगानी डुब्ने भएपछि जेभीका आधिकारिक प्रतिनिधि भण्डारीले सर्वोच्च अदालत पुगेर उजुरी गरे ।
गोदाममा मल थुप्रिएर स्थान अभाव भएकाले तातोपानी भन्सार कार्यालयमा अन्य सामग्री राख्ने स्थान अभाव भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । मल छुटाउन जाँचपास गरेर सिलबन्दी गर्न व्यापारीले कुनै कागजात भन्सारमा पेस नगरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस