२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

व्यावसायिक रूपमा कस्तुरी मृग पालनको कानून बनाऔं : शेरबहादुर तामाङ

  • २०७९ जेष्ठ १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • जेठ १२, २०७९

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हिमाली क्षेत्रको बफर जोनमा कस्तुरी मृग पालन सम्बन्धी नीति बनाउन संसद्मा प्रस्ताव गरेका छन् ।

    युवालाई पासपोर्ट थमाएर विदेशमा पठाउनुको सट्टा कस्तुरी फार्म खोल्न प्रेरित गर्नु देशको हितमा हुने उनले बताए ।

    सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा संशोधन प्रस्ताव राख्दै तामाङले कस्तुरीको फार्म खोल्ने कानून बनाउन प्रस्ताव गरेका हुन् ।

    ‘सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर ९० मा वन्यजन्तु पालनको विषय उल्लेख भएको देखिन्छ, धेरै पहिलेदेखि वन्यजन्तु पालनको बारेमा छलफल भएको हो । यसपटक कानून बनाएरै कस्तुरी पालनको नीति बनाऔं,’ तामाङले भने, ‘कस्तुरी पालन हिमाली निकुञ्जको बफर जोनमा गर्न सकिन्छ । युवालाई पासपोर्ट दिएर अरब खाडीमा पठाउनुभन्दा कस्तुरी पालनको लाइसेन्स दिएर बफर जोनको निश्चित जग्गामा कस्तुरी पालको फार्म बनाउने हो भने त्यहाँ पर्यटनको विकास हुनेछ, त्यसले नेपाललाई धेरै ठूलो उपार्जन हुनेछ ।’

    पूर्व कानूनमन्त्री समेत रहेका तामाङले वन्यजन्तु पालनको विषय जोडेर कस्तुरी पालनको कुरा जोडका साथ ल्याउन माग गरे । संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन गर्ने निजी विधेयक छिटो पारित गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

    ‘युवालाई कृषिमा आकर्षण गराउन गाँजा खेतीलाई नियमन गर्ने विधेयक छलफलमा पारित गरौं । युवालाई हरियो पासपोर्ट च्यापेर खाडीमा होइन, हरियो गाँजाको बोट समाएर गाउँ पठाउन सकिन्छ,’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस