वैशाख ३०, २०७९
चाैतारा । मतदानका विषयमा सिन्धुपाल्चोकका ५ स्थानमा झडप भएको छ। मेलम्चीको ज्यामिरे, बाह्रबिसे गाउँपालिकाका दुई स्थान, त्रिपुरासुन्दरीमा झडप भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।
राजनीतिक दलका कार्यकर्ताहरूबीच मतदानका विषयमा झडप भएपछि बाह्रबिसे-३ स्थित क्षमादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ। खुलाउने प्रयास जारी छ।
दुई दलबीचको झडप रोक्न चार राउन्ड हवाइ फायरिङसमेत भएको थियो। झडपमा एमाले र कांग्रेसका गरी चार जना कार्यकर्ता घाइते भएका छन्। अहिले त्यहाँ मतदान सुरु भइसकेको छ। त्रिपुरासुन्दरीको मतदान केन्द्रमा पनि विवादपछि स्थगित भएको मतदान पुन: सुरु भएको छ।
उता बाह्रबिसेकै भोटेनाम्लाङ मतदान केन्द्रमा भने विवाद जारी छ। मेलम्चीको ज्यामिरेमा झडपपछि विवाद भइरहेको छ। विवाद साम्य बनाएर मतदान सुरु गर्ने प्रयास भइरहेको खनालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस