बैशाख २५, २०७९
चाैतारा । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।
बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन्।
पछिल्लो विकसित प्रणालीबारे जलवायुविद् डा. धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधी निकै तीब्र गतिमा चलेको बताए। सो आँधीको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वानुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।
जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस