बैशाख २५, २०७९
चौतारा । स्थानीय तह सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित कार्य बढ्न थालेपछि प्रशासनले कडाइ गर्ने भएको छ ।
निर्वाचन आचारसंहिता विपरित उमेदवारहरुले सार्वजनिक स्थानमा झण्डा र ध्वजा राख्नि, ध्वनि प्रदुषण हुनेगरि माइकिङ गर्ने काम भइरहेको पाइएपछि निर्वाचन आचारसंहिता अनुगमन समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले उमेदवारहरुको ध्यानाकर्षण गराएका छन् ।
२७ गते भित्रमा उमेदवारहरुले राखेको झण्डा र ध्वजाहरु नहटाए प्रहरी लगाएर हटाइने प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।
उनले भने, ‘दलका उमेदवारहरुलाइ हामिले जानकारी गराइसकेका छौं। निर्धारीत समयमा आफुले राखेको प्रचार सामग्री नहटाए हामी आफै हटाउँछौं।’
स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचन आचारसंहितामा उमेदवारहरुले अनुमति बिना व्यक्तिको निजि आवासमा, सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न नपाउने, निर्वाचन प्रचारमा विद्यालय भवन, शिक्षक र सवारी प्रयोग गर्न नपाउने , आमसभामा तथा जुलुसमा १८ बर्षमुनिका बालबालिका प्रयोग गर्न नपाउने, मतादातालाइ प्रभाव पार्नेगरि भोजभतेर गर्न नपाउने भनिएको छ ।
हाल सम्म सिन्धुपाल्चोक जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनको २ ओटा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाइ सहयोग गर्न आफ्नो दल तयार रहेको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस