वैशाख २४, २०७९
चाैतारा । गत असार १ गते मेलम्ची नगरपालिकामा हेलम्बुको भ्रेमाथाङबाट आएको बाढीले बितण्डा मच्चायो। सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को एउटा मुख्य बजार एकै दिनको बाढीले खण्डहर बनायो।
बाढीले मेलम्ची नगरपालिको तारामाराङ , ग्याल्थुम, शिखरपुर ,बाहुनेपाटी र फटकशिला लगायतको क्षेत्रमा ठूलो क्षति पुग्यो। बाढीले उक्त क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीदेखि शीर्षनेताहरु पुगे अनि आश्वासन पनि दिए। अहिले वर्षायाम सुरु भएसँगै मेलम्चीबासीहरु आकाशतिर हेरेर रात बिताउन वाध्य छन्।
उक्त बाढीले क्षतिग्रस्त बनाएको मेलम्चीलाई स्थानीयले निकै कष्टका साथ अहिले बस्न लायक बनाएका छन्। आवासको व्यवस्था गरेपछि बाढीको कटानले बाँकी रहेको जग्गा कतै यस वर्ष बाढीले लैजाने त होइन भन्ने त्रासमा छन् उनीहरु।
अहिले देशभरै निर्वाचनको माहोल रहेको छ। वैशाख ३० गतेको स्थानीय तहको चुनावको रौनक यस क्षेत्रमा पनि रहेको छ।
मेलम्ची नगरवासीका घर आँगनमा भोट माग्न आउने उम्मेदवार प्रशस्त देखिएका छन्। राजनीतिक दलहरु माइक बोकेर आफ्नो अजेण्डा प्रचार गरिरेका छन्। यसरी प्रचार गरिहँदा राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा यो क्षेत्रको विपत् व्यवस्थापनका बारेमा भने ठोस अजेण्डा पेस गर्न सकेका छैनन्।
उनीहरुले इन्द्रावती र मेलम्ची नदी नियन्त्रण गरेर गहिरो बनाउनेदेखि बजार वचाउनेसम्मका कुरा गरिरहेको भए पनि कुनै पनि उम्मेदवारसँग ठोस अजेण्डा नरहेको मेलम्ची बजारका स्थानीय सिद्धीनारायाण श्रेष्ठले बताए। मेलम्ची बजारका अर्का स्थानीय शम्भु चालिसेको अनुभव पनि त्यस्तै छ।
त्रिपक्षीय प्रतिस्पर्धा
मेलम्ची नगरपालिकाको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस–राप्रपा र माओवादी–एकीकृत समाजवादीबीच प्रतिस्पर्धा देखिएको हो। गत स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिका नेकपा एमालेले जितेको थियो। उक्त समयमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस भएको थियो।
अहिले नेकपा एमालेले मेयर र उपमेयरमा नयाँ अनुहारलाई उठाएको छ। गत निर्वाचनमा विजयी डम्बर अर्याल पुन: मेयरमा दोहरिन चाहेको भए पनि उनले टिकट पाउन सकेनन्। एमालेले मेलम्चीको मेयरमा बालकृष्ण देउजालाई टिकट दियो। मेलम्चीमा एमालेले उपमेयरमा उमा श्रेष्ठलाई अघि सारेको छ। हालकी उपमेयर भगवती नेपाल एकीकृत समाजवादीमा लागेकी थिइन्।
त्यस्तै नेपाली कांग्रेसले गत निर्वाचनमा पराजित आइतमान तमाङलाई यस पटकको निर्वाचनमा पनि मेयरमा अघि सारेको छ। कांग्रेसले नगरस्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ। राप्रपाबाट उपमेयरमा कुमारी तामाङ उम्मेदवार रहेकी छन्।
अघिल्लो निर्वाचनमा दोस्रो र चौथो स्थानमा रहेको पार्टीले आपसी तालमेल गरेकाले निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
त्यस्तै नेकमा माओवादी केन्द्र र एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले तालमेल गरेर मेयर/उपमेयरको उम्मेदवार उठाएको छ। एकीकृत समाजवादीका नानीराम चौलागाई मेयरको उम्मेदवार बनाइएको छ। त्यस्तै माओवादी केन्द्रबाट देवेन्द्र घोरासाइने उपमेयरका उम्मेदवार रहेका छन्।
अघिल्लो निर्वाचनमा उनले वडाध्यक्ष जितेका थिए। गत स्थानीय तह निर्वाचनमा मेलम्ची नगरपालिकामा माओवादी केन्द्रले तेस्रो स्थान हात पारेको थियो।
एकीकृत समाजवादीको संगठन नगर क्षेत्रमा राम्रो भएको र नयाँ पार्टी भएकाले कति मतदाता छन् भन्ने एकीन हुन नसक्दा प्रतिस्पर्धा यही पार्टीको पक्षमा हुने कुनै अनुमान नभएको समाजवादीबाट मेयरका उम्मेदवार चौलागाईले बताए। उनले मेलम्चीमा त्रिपक्षी प्रतिस्पर्धा हुने र आफू नीतिगत रुपमा अरु उम्मेदवार भन्दा अगाडि रहेको दाबी गरे।
विपतबारे
विपतबारे काम गर्ने सवै मेयरहरुको अजेण्डा अघि सारेका छन्। तर उनीहरुले कसरी काम गर्ने भन्ने खाका बनाउन भने सकेका छैनन्।
नेकपा एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण देउजाले मेलम्ची नगर विपतग्रस्त क्षेत्र भएकाले आफू नेतृत्वमा आएपछि यसको संरक्षण र सुरक्षितस्थानमा बस्ति बनाउने काम गर्ने बताए। उनले हेम्लबुदेखि काभ्रेसम्मको सवै क्षेत्रमा भ्रेमाथाङ बाढी पीडित रहेकाले उनीहरुको सर्वेक्षण गरेर विस्तृत योजना बनाउनुपर्ने आवश्यकता रहेको बताए।
बाढीले क्षति पुर्याएका घर, जग्गा र अन्य सम्पत्तिहरुको लगत तयार गरेर क्षतिपूर्ति र राहतको काम गर्ने उनले बताए। त्यस्तै कांग्रेसबाट मेयरका प्रतिस्पर्धी आइतमान तमाङले मेलम्ची नगरमा आफूले जितेमा विपतबाट सुरक्षित बनाउन काम गर्ने बताए। उनले पुनर्निर्माणदेखि क्षतिपूर्तिसम्मको काम गर्ने बताए।
इन्द्रावती र मेलम्ची नदी नियन्त्रणका लागि नगरले विस्तृत योजना बनाउने उनको भनाइ थियो। त्यस्तै एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रहेका नानीराम चौलागाईले आफूले नगरको नेतृत्व पाएमा खोला गहिरो पार्ने र बाढी प्रभावित परिपरिका खोतीयोग्य जमिनलाई पुन: प्रयोगमा ल्याउने उनले बताए।
उनले भ्रेमाथाङ पहिरोका कारण भएको क्षति मूल्यांकन गरेर योजना बनाएर काम गर्ने बताए।
आफूले सहज रुपमा जित्ने प्रतिस्पर्धीको दाबी
मेयर पदका तीनै जना प्रतिस्पर्धीहरुले आफूले सहज रुपमा जित हात पार्ने दाबी गरेका छन्।
यसअघि नेकपा एमालेले जितेको नगरक्षेत्रमा उक्त जितलाई कायम राख्ने दाबी उक्त पार्टीको छ। एमालेका उम्मेदवार बालकृष्ण देउजाले नगरमा विगतमा पनि जित हात पारेको र एमालेको अवस्था राम्रो रहेकाले यसपटक आफू विजयी हुने दाबी गरे।
उनका अनुसार एमालेको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र राप्रपाको गठबन्धनसँग हुनेछ। विगतको मतको अवस्थालाई हेर्दा पनि आफू सहज अवस्थामा रहेको उनको भनाइ छ।
उता कांग्रेसका उम्मेदवार आइतमान तामाङले गत निर्वाचनमा आफू पराजित भएको भएपनि अहिले राप्रपासँग तालमेल भएको र जनतालाई आफ्नो अजेण्डा बुझाउन सकेकाले जित निश्चित रहेको बताए। उनले मुख्य प्रतिस्पर्धा एमालेसँगै भए पनि एकीकृत समाजवादीको गठबन्धनलाई पनि प्रतिस्पर्धीको रुपमा लिएको उनले बताए।
त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार नानीराम चौलागाईले नगरमा विगतमा राम्रो काम हुन नसकेकाले यस पटक नयाँ अनुहारलाई जनताले मौका दिने तर्क गरे। एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको तालमेलका कारण यसपटक आफूहरुले जित्ने उनको दाबी छ।
विगतमा आफूले राजनीतिक रुमपा मेलम्ची नगरमा धेरै समाजसेवाका काम गरेकाले एमाले र कांग्रेसका उम्मेदवारको तुलनामा आफूलाई मतदाताले विश्वास गर्ने वाचा मत माग्ने क्रममा गरेको उनले बताए।
गत निर्वाचनको गणित
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा एक्ला एक्लै निर्वाचन लडेका थिए। अहिले एमाले एक्लै र अन्य चार दल दुईवटा समूह बनाएर मैदानमा उत्रिएका छन्।
१३ वडा रहेको मेलम्ची नगरपालिकामा गत निर्वाचनमा ३१ हजार ९ सय ९७ मध्ये कूल मत मध्ये २५ हजार ८ सय १० मत खसेको थियो। जसमा १ हजार भन्दा बढीको मत अन्तरले एमाले उम्मेदवार डम्बर अर्याल बिजयी भएका थिए।
एमाले उम्मेदवार अर्यालले गत निर्वाचनमा ८ हजार ६७८ मत पाएका थिए भने कांग्रेसका उम्मेदवार आइतमान तमाङले ७ हजार ३३ मत ल्याएका थिए। माओवादी केन्द्रका श्याम खड्काले ४ हजार ८ सय २० मत पाएका थिए। राप्रपाका फणिन्द्र दाहालले ३ हजार ७ सय २७ मत पाएका थिए।
पाँच वर्षको अवधीमा धेरै परिर्वतन भएकाले अहिले यो नतिजामा भर पर्न नसकिने दाबी नेपाली कांग्रेस र माओवादी गठबन्धनले गर्ने गरेका छन् भने एमालेले उक्त मतदाता कायमै नै रहेको र त्यसमा थप हुने दाबी गर्दै आएको छ।
७ हजार नयाँ मतदाता
मेलम्ची नगरपालिकामा यस वर्ष ७ हजार २ सय ८ जना मतदाता थपिएका छन्। अहिले कुल ३९ हजार २ सय ५ मतदाता रहेका छन्। जसमा पुरुष २० हजार २ सय ७६ महिला १८ हजार ९ सय २९ रहेको छ। थपिएका मतदाता आर्कषण गर्नेमा अहिले राजनीतिक दलहरुले अजेण्डा बनाएर प्रचार थालेका छन्। नेपाललाइभबाट
प्रतिक्रिया दिनुहोस