बैशाख १८, २०७९
चौतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपीटबाट तीन जना माओवादी कार्यकर्ता घाइते भएका छन्।
पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्ता घाइते बनाएको माओवादी सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुलीले एक विज्ञप्ति जारी गर्दै बताएका छन्।
उनले भनेका छन्, ‘निर्वाचन आयोगको निर्देशित आचार सम्हिताको आधारमा चुनाव प्रचार प्रसार अभियान संचालन गरि रहेको अवस्थामा पाँचपोखरी थाड्पाल गाउँ पालिका ७ भोटेनाम्लाङ नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार सुके तामाङ र राप्रपाका उहि वडाका वडा सदस्य उम्मेद्वार देवराज गुरुङले वाइसीयल नेपाल चुनावी प्रचारमा रहेका सदस्यहरु जिवन पुरी, विनोद गिरी र रोहित गिरीलाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको छ ।’
घटनामा बा. ९६ प. ५२२३ नम्बरको मोटर साइकल समेत क्षतविक्षत भएको जनाएका छन्। घटनाप्रति माओवादी केन्द्रले खेद ब्यक्त गरेका छ। उनीहरुको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
ज्यान मार्ने उद्देश्य राखेर खुकरी प्रहार गर्ने निज सुके तामाङ र देवराज गुरुङलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सिन्धुपाल्चोक जिल्ला प्रशासनलाई माओवादीले ध्यानकर्षण गराएको छ।
प्रतिक्रिया दिनुहोस