वैशाख १२, २०७
चाैतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख बन्न राजीनामा दिएका अमानसिंह तामाङको टिकट अन्तिम समयमा माओवादीले खोसिदिएको छ।
पार्टी केन्द्रको अनुमतिमै राजीनामा दिएर मेयरमा उठ्न तयार उनको टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। पुनः प्रमुख पदका लागि उम्मेदवारी दिनका लागि उनले केहीदिन अघि उपप्रमुख जानुका पराजुलीलाई राजीनामा बुझाएका थिए।
चौतारा साँगाचोकगढीको मेयर टिकट माओवादीले तामाङबाट खोसेर कृष्णप्रसाद सापकोटालाई दिएको छ।
सापकोटालाई टिकट दिएपछि तामाङ असन्तुष्ट भएका हुन्। सापकोटा जिल्लाका पुराना नेता तथा सभामुख सापकोटानिकट नेता मानिन्छन्।
आफ्नो टिकट अन्तिम समयमा ‘फिक्स’ भइसकेको टिकट खोसिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको तामाङले बताए।
तामाङका अनुसार हिजो (आइतबार) दिउँसो ३ बजेसम्म टिकट आफ्नै नाममा थियो।
‘पार्टीले टिकट नदिएपछि मैले स्वतन्त्रबाट उम्मेदवारी दिएको छु,’ उनले भने, ‘मैले अझै धेरै काम चौतारा साँगाचोकगढीमा बाँकी भएको कारणले त्यसलाई पूरा गर्नका लागि स्वतन्त्रबाट उठेको छु।’
आफ्नो टिकट खोसिएपछि अब स्वतन्त्रबाट निर्वाचन लड्ने उनले बताए। ‘हिजो दिउँसो ३ बजेसम्म मेरो नाममा नै टिकट थियो। अन्यन्त्र व्यक्तिले सो टिकट खोसेर लग्यो। त्यसपछि मैले आफू स्वतन्त्र लड्छु भनेर लागेको हुँ,’ तामाङले भने।
चौतारा साँगाचोकगढी नगरपालिकाको ग्राउन्डले आफ्नो माग धेरै गरेपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको तामाङले बताए।
‘ग्राउन्डबाट जसरी पनि उठ्नपर्छ भन्ने माग आए पनि पार्टीले टिकट नदिएको हो। स्वतन्त्र भए पनि चुनाव जित्न उम्मेदवारी दिएको हुँ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस