बैशाख ६, २०७९
चाैतारा । तीन दिनदेखि जिल्ला र काठमाडौंका विभिन्न स्थानमा लगातार बसेको बैठकबाट कुनै निष्कर्ष नआएपछि सिन्धुपाल्चोकमा सत्तागठबन्धनका दलबीचको चुनावी तालमेल अन्योलमा परेको छ।
आठ सिट चाहिने कांग्रेसको पूर्वअडान यथावत् रहेकाले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको चुनावी तालमेल असहज बन्दै गएको हो।
सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको आ–आफ्नै स्वार्थ बैठकमा टकराएकाले पनि गठबन्धन अन्योलमा परेको हो। यद्यपि, बैठकलाई निरन्तरता दिने सहमति भने भएको छ।
सापकोटा र बस्नेतको क्षेत्र एउटै भएकाले प्रदेश र संघको चुनावलाई आफ्नो पक्षमा पार्ने उद्देश्यसहित स्थानीय तहमा बढी सिट दाबी गरिरहेकाले कुरा मिलेको छैन।
बैठकमा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, जिल्ला सभापति जंगबहादुर तामाङ र पूर्वसभापति विकास लामा, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य माधव सापकोटा, जिल्ला अध्यक्ष गोविन्द पराजुली र एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य सुभाष कर्माचार्य र जिल्ला अध्यक्ष नवराज पौडेल सहभागी छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लाका १२ तहमध्ये ६ तह दिनुपर्ने माग राखेका छन्। तर, कांग्रेसले दुई पार्टीलाई चार सिट मात्र दिन सकिने बताएपछि बैठक अन्योलमा परेको हो।
हालको संगठन र पहिलो स्थानीय निर्वाचनको मतलाई आधार मान्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले ६ सिट माग्नु स्वाभाविक भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए। तर, कांग्रेसले एक्लै आठ स्थान जित्ने दाबी गरेको छ।
सभामुख सापकोटा र पूर्वमन्त्री बस्नेतको क्षेत्रमा सात स्थानीय तह छन्। ०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादीले एक–एक सिट जितेका थिए। त्यसैलाई आधार मानेर सिट बाँडफाँड गर्न माओवादीले प्रस्ताव राखेको छ। तर, कांग्रेसले बढी सिट मागेकोले कुरा मिलेको छैन।
कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाले वार्ता जारी रहेको बताए। ‘माओवादी र एकीकृत समाजवादीलाई चार सिट दिने भनेका छौँ। उहाँहरूले ६ सिट माग्नुभएको छ,’ उनले भने, ‘हामीलाई १२ मध्ये आठ चाहिन्छ भनेका हौँ ।’ एक्लै जित्छु भन्ने कांग्रेसको घमण्डले गठबन्धन अन्योलमा परेको माओवादी र एकीकृत समाजवादीको आरोप छ।
एकीकृत समाजवादीले मेलम्ची नगरपालिका मागेको छ। माओवादीले भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका आफूले जित्ने दाबी गरिरहेको छ। बलेफी र जुगलमध्ये एक छोड्नुपर्दा इन्द्रावती चाहिने माओवादीको बटमलाइन छ।
इन्द्रावतीमा माओवादी र एकीकृत समाजवादी मिल्दा चुनाव जित्ने सम्भावना छ। गठबन्धनमा कुरा नमिले माओवादी र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने विषयमा पनि छलफल चलिरहेको छ। कांग्रेसले बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचापोखरी थांपाल तथा इन्द्रावती, बलेफी र जुगलमध्ये एउटा लिँदा ६ सिट हुन्छ।
दुई पार्टीलाई ६ र कांग्रेसलाई ६ सिटमा भागबन्डा मिलेमा तालमेल हुने नत्र नहुने सम्भावना रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए । कांग्रेससँग गठबन्धन नभए पनि माओवादी र एकीकृत समाजवादीले जिल्लाभर तालमेल गर्ने तयारी गरेका छन्।
माओवादी केन्द्रले १२ वटै स्थानीय तहका उम्मेदवारको सिफारिस माथिल्लो कमिटीलाई पठाइसकेको छ। गठबन्धनको निर्णय कुरिरहेको कांग्रेसले हालसम्म उम्मेदवारको सिफारिस गरेर माथिल्लो कमिटीमा पठाएको छैन।
प्रतिक्रिया दिनुहोस