२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘सिन्धुपाल्चोकको पहिलो पार्टी माओवादी केन्द्र नै हो’ (अन्तर्वार्ता)

  • २०७८ चैत्र १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • चैत १०, २०७८

    सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १२ फलाँटेमा वि.सं. २०३२ साल भाद्र १२ गते बुबा मनोरथ उपाध्या र आमा हिमा देवी उपाध्याको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिएका गोविन्द पराजुली ‘अविनाश’ । बालापन देखिनै अलि चन्चले, जिज्ञासु र मिलनसार स्वभावका थिए उनी ।

    अध्ययनको सिलसिलामा जन जागृती मा.वि. साँगाचोकबाट एसएलसी उत्रिर्ण गरे पश्चात उच्च शिक्षाको लागि काठमान्डौ छिरेका पराजुलीले राजनीतिक शास्त्रमा स्नातोकोत्तर (एमए) र शैक्षिक व्यवस्थापनमा शास्त्रमा पनि स्नातोकोत्तर (एमइडी) सम्मको शैक्षिक ज्ञान हासिल गरेका छन् ।

    वि.सं. २०४३ सालबाट अखिल छैटौंको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा २०४७ को एकता महाधिवेशनबाट नेकपा एकता केन्द्रको विद्यार्थी संगठनमा क्रियाशिल हुदै २०५१ साल भाद्रमा महेन्द्र रत्न क्याम्पस ताहाचलमा अखिल (क्रान्तिकारी)को इकाइ अध्यक्ष भए पश्चात पार्टी सदस्यता प्राप्त गर्ने ठाउँसम्म पुग्योे ।

    २०५५ सालमा सव–एरिया सदस्य हुँदै पार्टटाइमर सदस्य भएर काम गरेका थिए । त्यसैबेला उनी जन जागृति मा.वि मा शिक्षण पेशामा आबद्ध थिए । वि.सं. २०५७ मा नेकपा (माओवादी) पार्टीमा पूर्णकालिन भई विभिन्न आक्रमण, प्रत्याक्रमण, घेरा, यूद्ध, यम्वुस, फाईट र कयौं मोर्चाहरुमा सहभागी भए । परिवारका तिन भाई यूद्धमा सामेल भएको र माईलो भाइको जनयूद्धको क्रममा वि.सं.२०६१ सालमा मृत्यु भयो ।

    पराजुली जनयूद्धका घाइतेका तथा सहिद परिवारका सदस्य पनि हुन् । पार्टीको सक्रिय, जुझारु, योद्धाको रुपमा हाल उनीले माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला संयोजकको जिम्मेवारी सम्हालि सकेका छन्। आसन्न निर्वाचनमा सिन्धु माओवादीको अवस्था र समसामयिक बिषयमा केन्द्रित रहेर नेता पराजुलीसँग खबरज्योति डटकमका लागि पत्रकार विदुर गिरीले गरेको कुराकानीः

    सिन्धुपाल्चोक जिल्लालाई बागमती प्रदेशको सक्रिय र क्रियाशिल जिल्ला बनाउनु भएको छ । यसको जस कसलाई दिनुहुन्छ ?

    हामीले पार्टी विधानमा लेखिए बमोजिमको कामहरु गरेका हौं । जिल्लामा हामी नेता कार्यकर्ताको भूमिकामा जो जति छौं सबै सक्रिय भएर लागेका छौं । दृढ संकल्पका साथ हामी जिल्लामा परिचालित छौं । जसको परिणाम हामीलाई बागमती प्रदेशको आन्तरिक मूल्याङ्कनमा सक्रिय र क्रियाशिल जिल्लाको रुपमा मूल्याङ्कन गरिएको छ । यसको जस परिचालकका रुपमा रहनु भएका नेताहरु र परिचालित हुने कार्यकर्ताहरुका साथमा हामिलाई माया गर्ने शुभचिन्तकहरुलाई दिन चाहन्छु ।

    जसरी यो जिल्लालाई आन्तरिक मूल्याङ्कनमा सक्रिय र क्रियाशिल बनाउनुभयो। यसले आगामी निर्वाचनमा पार्टीलाई उत्कृष्ट बनाउने सम्भावना कस्तो छ ?

    हामीले सक्रिय र क्रियाशिल छवि त बनाईसकेका छौं । अब हामी यसमा टेकेर अबको स्थानीय निर्वाचनमा जिल्लाको पहिलो पार्टी बनाउने अभियानमा जुटेका छौँ। बन्छ पनि। त्यसको प्रशस्त आधार र कारणहरुका साथमा उच्च मनोवलमा जुटेपछि कार्यकर्ताको पनि उस्तै साथ र सहयोग छ।

    विपनामा समृद्धिको सपना देख्न सक्ने नेताहरुको जमात छ । त्यसलाई पच्छ्याउन सक्ने ठुलो कार्यकर्ताको पंत्ति छ । साथमा जनताको समर्थन पनि उत्तिकै छ । यी सबै कुराहरुलाई मिलाएर जाँदा पार्टीलाई आउँदो स्थानीय निर्वाचनमा पहिलो बनाउने सम्भावना देखेको छु ।

    सिन्धुपाल्चोक जिल्लामा माओवादी केन्द्र सबै पार्टी भन्दा ठुलो पार्टी बन्न सक्ने आधार केके छन् ?
    अबको निर्वाचनामा हाम्रो पार्टी सबै भन्दा ठुलो पार्टी हुने आधारहरु धेरै छन् । सबैको व्याख्या गर्न त यो बसाई काफी नहोला । तर, पनि बुँदागत रुपमा आधारहरु प्रस्तुत गर्छु।

    १) बर्तमान अबस्थामा चलिरहेको राजनैतिक मुद्धाहरुको हामी सर्जक हौं । १० बर्ष जनयूद्ध संचालन गर्दा हामीहरुले बस्ती बस्ती, घर घर, व्यक्ती व्यक्तीका मुद्धाहरु उठाएका छौँ ।
    २) हामीले मुद्धाहरु मात्र उठाएनौँ, समाधान पनि दियौं, जसको परिणाम आज सबै दलहरु विकास, र समृद्धिको यात्रा तय गर्न वाध्य भएका छन् ।
    ३) यो जिल्लाभित्र रहेका सम्पुर्ण जनसमुदायहरु कम्युनिष्ट भावनाले ओत–प्रोत भएका कारण कम्युनिष्ट पार्टीको बलियो संगठनको रुपमा चिनिएको छ ।
    ४) हामी जिल्लाको १८ हजार संगठित सदस्यहरु भएको पहिलो पार्टी हौं । यति सदस्यता जिल्लामा कुनै पार्टीले पनि संगठित गर्न सकेको छैन ।
    ५) वर्ग संघर्षबाट खारिएका ठुलो संख्यामा नेता र कार्यकर्ताको समर्थक र शुभेच्छुकको जमात छ ।
    ६) हामीसँग आन्तरिक एकता मजबुत भएकोले हामी सहि निर्णय र उचित पहल कदमी लिन सक्ने क्षमतामा छौं ।
    ७) हामी सरकारमा रहँदा प्रशस्तै राम्रा कामहरु गरेको छौं ।
    ८) हामीमा भएका गल्ती कमीकमजोरीहरुलाई सच्याउँदै जनतामा जाने हाम्रो नीति रहेको छ ।

    यी लगायतका कारण माओवादी केन्द्र सिन्धुपाल्चोकको पहिलो पार्टी बन्न सक्दछ ।

    पार्टीको महाधिवेशन अगाडिनै माओवादी केन्द्र सिन्धुपाल्चोकले १८ हजार सदस्य संख्या रहेको दावी गरेको थियो । हाल त्यो संख्या कति पुगेको छ । कस्ता व्यक्तिहरुले माओवादीको सदस्यता लिन पाउँछन र त्यसको प्रक्रिया केके छन ?

    पार्टीको आठौं महाधिवेशनको तयारी अभियानमा सदस्यता नविकरणको प्रक्रिया चलिरहदा हाम्रो जिल्लामा १८ हजार सदस्यता नविकरण गरि अनलाईन इन्ट्री गरेका थियौं । अहिले हामीसँग त्यो सदस्यता संख्या बढेर २५ हजारको वरिपरी पुगेको छ । जसलाई हामीले उद्देश्य बनाएका थियौं ।

    जो मानिस गरिब, अन्धविश्वास, समाजिक सांस्कृतिक विभेदकाविरुद्ध आफूलाई उभ्याएर समजवाद उन्मुख आर्थिक संमृद्धिको बाटोमा लामबद्ध हुने विश्वासका साथ अगाडी बढ्दै राष्ट्रिय स्वाधीनतालाई सर्बाेपरी मानेर राष्ट्रिय पूजीको विकासमा सामेल श्रमजीवी जन समुदायहरुले यो पार्टीको सदस्यता प्राप्त गर्न सक्दछन्। पार्टीको शुभचिन्तक, समर्थक हुदै पार्टी मातहतका जनवर्गिय संगठनमा आबद्ध भई ६ महिनाको अवधि पार गरेका व्यक्तिहरुले सदस्यता प्राप्त गर्न सक्दछन् ।

    राष्ट्रिय स्तरमै सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलको कुराहरु भइरहेको छ। सिन्धुपाल्चोकका गठबन्धन दलहरुबीच सम्बन्ध कस्तो छ ? सिन्धुपाल्चोकको सवालमा केन्द्रमाभन्दा फरक गठबन्धन हुन सक्ने सम्भावना कतिको छ ?

    वर्तमान सत्ता गठबन्धनका दलहरुबीचको संम्बन्ध सिन्धुपाल्चोकमा सुमधुर छ । हामीले पालैपालो बैठकको अध्यक्षता गरी महिनाको एक पटक बैठक बस्ने परिपाटी पनि बसालेका छौं । हामीले भाइचारा सम्बन्ध कायम गर्ने स्वस्थ आन्तरिक प्रतिस्पर्धा गरि सव्य राजनीतीक संस्कारको निर्माण गर्ने संकल्प गरेका छौं ।

    अहिले हामी चुनाव केन्दित भएर संगठन परिचालनका योजना बनाइ राखेका छौं । लेलीनले भने झै ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा गठबन्धनलाई हामी वस्तु सापेक्ष बनाउने छौं ।

    माओवादी केन्द्रले सदस्य संख्याको हिसाबले आफूलाई एकातिर ठुलो दल पनि दाबी गर्छ, अर्कातिर गठबन्धनमा पनि जोड दिन्छ । खासमा गठबन्धनको आवशयकता माओवादीलाई हो कि कांग्रेस र नेकपा एसलाई हो ?

    जिल्लाको हकमा कार्यकर्ता बेसमा रहँदा हामी पहिलो पार्टी हौँ । त्यसमा कुनै दुविधा छैन । गठबन्धनलाई अगाडी बढाउने सवालको कुरा छ । हामी अहिले दलीय व्यवस्थाको अभ्यास गरिरहेका छौं । यसरी हेर्दा प्रत्यक दलको आफ्नो ग्राउण्ड छ, त्यो ग्राउण्डसँग हिड्ने दुईवटा उद्देश्य छ । एउटा वर्तमान शक्ति सन्तुलनलाई लिएर अगाडी बढी वर्तमान संविधानको रक्षा र कार्यान्वयन गर्ने, समग्रमा अग्रगमनको पक्ष पोषण गर्ने।

    अर्काे यी सबै कुराको खिलापमा गई प्रतिगमनको मतियार हुने। यस्तो अवस्थामा हामी सबै दलहरुलाई एक अर्काको सहयोग चाहिएको हो । जो गठबन्धन गरेर शक्ति सन्तुलन कायम गरि राख्न चाहान्छ । तपाईंले भनेका यी तीनै दलहरुलाई एकलाई अर्काे दल चाहिएको छ । आफूलाई कम्युनिष्ट भन्ने तर, सधैं प्रतिगमन मात्र चाहाने प्रवृत्तिलाई पराष्त गर्न पनि राष्ट्रिय रुपमा नै अरु कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिन जरुरी छ ।

    १२ स्थानीय तह र १०३ वडा मध्ये आगामी स्थानीय निर्वाचनमा माओवादीले एक्लै चुनाव लड्दा कति र गठबन्धनबाट लड्दा गठाबन्धनले कति स्थानमा विजयी हुन सक्ने आकलन गर्नु भएको छ ?

    आगामी स्थानीय निर्वाचनमा एक्लै चुनाव लड्दा स्थानीय तह र वडाहरुमध्ये आधा सिट संख्या हामी एक्लैले जित्ने आधार छ, तागत र संकल्प छ । अब रह्यो गठबन्धनमा चुनावमा गएमा एक दुई सिट तलमाथी होला । तर, पनि हामी पहिलो अवस्थामा नै रहन्छौं ।

    मतदाताले माओवादीलाई नै भोट हाल्नु पर्ने कारण के छ। तपाईंहरुले त्यस्तो के काम गर्नुभएको छ जनताको लागि ?

    देशभर मतदाताले माओवादी केन्द्र र यसको नेतृत्वप्रति ज्यादा अपेक्षा राखेका छन् । यो वर्तमान राज्य व्यवस्थाको मुख्य हिसेदार नै माओवादी हो । यदि माओवादीलाई सत्ताको बागडोरमा पुगेमा नयाँ केही गर्न सक्छ भन्ने आषा जनतामा अझै बाँकी छ । हामीले यसका आधारहरु केही बुँदागत रुपमा चर्चा पनि गरेको छौं ।

    हामीले भनेको छौ समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार भन्ने हाम्रो नारा छ । यसको कार्यान्वयनमा हामी लागिरहेका छौं । त्यस आधारमा हामीलाई नताले भोट हाल्दछन् । अर्को कुरा, हामीले गरेका राम्रा कामहरुको फेरिस्त तयार गर्छौं । काम गर्दा हुन गएका कमीकमजोरी, गल्तीहरु उपर जनतामा क्षमा माग्छौं र आगामी दिनमा गर्ने कामहरुको संकल्पलाई लिएर जनातामा जान्छौं ।

    माओवादीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता एजेन्डा स्थापित गराउन सफल भएता पनि माओवादी पार्टी कमजोर हुँदै गएको किन होला ? कतै तपाईंहरुको क्रियाकलापले जनताले माओवादी बिर्सन बाध्य भएका त हैनन्?

    गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातीक समावेसी जस्ता मुद्धाहरुको सृजना गरि राष्ट्रिय रुपमा स्थापित गर्ने हामी माओवादी नै हौँ, भन्नेमा कुनै दुविधा छैन । यसको ज्वलन्त उदाहरण हाम्रो पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रका सबै दलहरुका नेताहरुले सम्बोधन गर्दा नै पुष्टि गरेका छन् ।

    अब रह्यो माओवादीले जनतालाई बिर्सियो या जनताले माओवादीलाई चिन्न सकेनन् भन्ने सवालमा जाँदा हामीले यी यावतका सबै कुराहरु जनतामा स्थापित गर्न नसकेकै हो । पार्टीले बुझाएपछी जनताले बुझ्ने हो, त्यसमा जनताको केहि दोष म देख्दिनँ । संगठनको व्यवस्थापन र परिचालनमा हाम्रो केहि कमजोरी भएर नै हामीले मतादाताहरुबाट सोचे अनुसार मत पाउन नसकेकै हौं । यो ज्ञान अब हामीले प्राप्त गरि सकेका छौं । जसका कारण जनता र पार्टीको सम्बन्ध अझ प्रगाढ हुनेछ ।

    राजनीतिक दलहरुले चुनावको बेला गुलिया नारा दिन्छन् । तर, चुनाव जितेपछि अर्को चुनावसम्म हराउाछन भन्ने आरोप लाग्दै आएको छ । गत निर्वाचनमा माओवादीले जनता सामु बाँडेका आश्वासनहरु सबै पुरा भएका छन् ?

    चुनावमा जनताहरुलाई पार्टीहरुले आफ्नो उद्देश्यमा केन्द्रित भएर कार्यक्रम, नीति नियमहरु तय गरि प्रतिबद्धता पत्रमा लेखिएको हुन्छ त्यो नै आफूले जितेपछि लागू गर्ने हो । त्यो तथ्य हो, त्यसलाई गुलियो नारा मात्र भन्न नमिल्ला, सपना परिकल्पना र आगामी योजनाहरु त गुलियो नै हुन्छ नी हैन र ? त्यसलाई लागू गर्नु पहिलो शर्त हो हामीले जितेका ठाउँहरुमा यो कार्यान्वयन गरेका छौँ । तपाईहरुले एक पटक नियाल्दा देख्न सक्नुहुन्छ ।

    माओवादीले सुरुमा अमेरिकी सहयोग परियोजना (एमसिसी) को खुलेरै विरोध ग¥यो । तर, पछि सदनबाट अनुमोदन गराउन तयार भयो । अन्तिममा एमसिसीकै पक्षमा उभिनुपर्ने त्यस्तो के आइलाग्यो ?

    तपाईको प्रश्न जायज छ । एमसिसी एक आर्थिक सहयोग परियोजना मात्र हुनुपर्ने थियो । यसलाई राष्ट्र र देशभन्दा माथि हुने गरि शर्त बन्देज गरि अमेरिकाले हामीलाई संसदमा पास गर्ने भन्यो । कांग्रेस, एमाले लगायतका दलहरुले हुबहु पास गर्न राजी भएका थिए ।

    तर, हामी राष्ट्र र देशलाई घात पुग्ने शर्तहरु संशोधन गरेर मात्र पास गर्नु पर्छ भन्ने मान्यतामा थियौं । जनताले दिएको मतको आधारमा हाम्रो पार्टीको संसदमा भएको सिटले मात्र त्यसलाई प्रभाव पार्न नसक्ने ठानेर हामी सडकमा गएका थियौं ।

    सडकको बल लिएर हामीले त्यसलाई १२ बुँदामा पुनः व्याख्यात्मक घोषणासहित एमसिसी एक विकास सहयोग परियोजना मात्र बनाई अगाडी वढाउने हद सम्म पु¥यायका छौं । जसका कारणले एमसिसीलाई हामीले नेपाली जनताको अनुकुलतामा लगेका हौं । यो नै सहि व्याख्या हो ।

    आगामी निर्वाचनमा यहाँको पनि कुनै पदमा उम्मेदवारी रहन्छ ?

    आगामी स्थानीय निर्वाचनमा मेरो चौतारा साँगाचोकगढी नगरपालिका मेयरको पदमा उमेद्वारी रहन्छ । यो रहनुका पछाडी केहि आधारहरु छन् । यो नगरलाई उत्तर र दक्षिणको मिलनको रुपमा हेर्दा दक्षिणमा ठुलो जनमत, स्रोत साधन र सम्भावनाको उत्तिकै संयोजन देखिन्छ ।

    त्यसै गरि उत्तरमा पनि त्यतिकै संयोजन छ । यो दुवैलाई मिलाउदा यो नगर अरु भन्दा प्रभावशाली र विकसित नगर बन्नेमा म ढुक्क छु । पार्टीको इतिहासको आधारलाई हेर्दापनि उत्तर र दक्षिणको उत्तिकै भूमिका छ । नाम पनि चौतारा साँगाचोकगढी भनेर राखिएको छ । यी आधारहरुमा अघिल्लो पटक उत्तरीभेगको नेतृत्व भई सकेको र अब दक्षिणको पालो भएकोले त्यसमा मेरो शसक्त उपस्थिती हो ।

    म सहिद परिवार र घाईते पनि हुँ, जसका आधारमा मलाई यो नगरका नेता कार्यकर्ता कमरेडहरुले समर्थन गर्नु हुने छ भन्ने मेरो पुर्ण विश्वास छ । मलाई पार्टीले टिकट दिँदा, जनताले जिताउदा यो स्थानीय तहलाई ७५३ स्थानीय तहहरु मध्ये नमूना बनाउने मसँग योजना र संकल्प छ ।

    अन्त्यमा तपाईको केही भन्नु छ ?

    अन्त्यमा हामी सबै पार्टी माताहतका सबै सदस्यहरु हौं । पार्टीको निर्णय सबैले फलो गरि पार्टीलाई मजबुत बनाई अधिक मतका आधारमा बिजय गराउनु छ । पार्टीलाई आगामी राजनीतितको सफा र स्वच्छ भविष्यमा केन्द्रित गरेर लैजानु हामी सबै नेता कार्यकर्ता, शुभचिन्तक र समर्थक आम जनताको दायीत्व हो भन्ने कुरा हामीले भुल्नु हुन्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस