२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

रहेनन् सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसी

  • २०७८ फागुन २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • फागुन २६, २०७८

    चाैतारा । सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसी ‘चाैतारे’ निधन भएको छ । लामो समयदेखि अवस्थ रहेका केसीकाे उपचारको क्रममा आज केएमसी शिक्षण अस्पतालमा निधन भएको हाे।

    चौतारा साँगाचोक नगरपालिका–७, सानोसिरुवारी निवासी ७५ वर्षीय केसी हालसम्म पनि पत्रकारितामै क्रियाशील थिए । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता तथा नेपाल समाचारपत्र दैनिकका जिल्ला समाचारदाताका रुपमा उनी कार्यरत थिए । दमरोग र छातीमा सङ्क्रमणका कारण उनी अस्वस्थ थिए।

    केसीलाई गत कात्तिकदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार कक्षमा १० दिन उपचार गराइ घरमा बसेका थिए । फेरि अस्वस्थ उनलाई अघिल्लो हप्ता अस्पताल भर्ना  गरिएको छोरा शरद केसीले जानकारी दिए ।

    विसं २०२६ देखि पत्रकारिता सुरु गरेका केसी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत थिए । नेपाल प्रेस युनियनका केन्द्रीय सभासदसमेत रहेका उनी नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, २०७४ तथा राससबाट उत्कृष्ट जिल्ला समाचारदाताका रुपमा २०५४ र २०५७ मा पुरस्कृत भए । 

    पत्रकार केसी साहित्यमा पनि उस्तै पाेख्त थिए।

    उनका उत्पीडन (कथा सङ्ग्रह), सुस्केरा र सुुसेली (गीति सङ्ग्रह) र नियति (कथा सङ्ग्रह) छन् । उनले २०५७ सालमा मिडिया प्वाइन्ट पुरस्कार र २०६० सालमा दैवीप्रकोप उद्धार पदकसमेत पाएका छन् ।

    उनका एक श्रीमती, एक छोरा र चार छोरी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस