फागुन २४, २०७८
चाैतारा । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष बन्न नपाएपछि बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन्। पालिका अध्यक्ष क्षेत्रीलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।
अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास, र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।
एमाले छाडेपछि पालिका अध्यक्ष क्षेत्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने तयारीमा थिए। कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सांसदको टिकट दिने आश्वासन दिएपछि उनी कांग्रेसमा प्रवेश गरेको उनी निकटस्थहरु बताउँछन्।
नेकपा एमाले विभाजनअघि माधव नेपाल निटक मानिन्थे। तर, पार्टी विभाजनपछि १० बुँदे सहमति गरेर जिल्ला अध्यक्ष हत्याउने दाउमा बसेको थिए।
‘नेता हुन होइन’
पार्टी प्रवेशपछि उनले भने, ‘म अघिल्लो स्थानीय तहको चुनावमा एमालेबाट जितेर गाउँपालिकाको अध्यक्ष भएको थिएँ। तर अहिले पाँच वर्ष कार्यकाल पूरा गरेपछि म पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेको छु। चुनाव जिते लगत्तैदेखि कम्युनिष्ट पार्टीका गतिविधिमा मेरा असहमति थिए। तर, जनताको लागि काम गर्छु भनेर विजयी भएपछि कार्यकाल पूरा गर्नुपर्ने मेरो दायित्य थियो।’
एउटा जिम्मेवार नेताले बीचमै छोड्नु हुन्न भनेर कार्यकालको अन्तिममा एमाले परित्याग गरेर कांग्रेस रोजेको बताए।
उनले भने, ‘एमाले मन नपरेपछि अर्को पार्टी रोज्न पाउनु मेरो मेरो स्वतन्त्रता पनि हो । मेरो अध्ययन र अनुभवले पनि के भन्यो भने अब लोकको प्रगति, उन्नति र मुलुकको भलो र हित गर्ने पार्टी नेपाली कांग्रेस हो । यसैले मेरो रोजाईमा कांग्रेस परेको हो । यो पार्टीमा सहभागी हुन ढिलो गरेकोमा म क्षमायाचना पनि माग्छु ।’
अवसर पाएर पनि एमालेले यति लामो समयसम्म गतिलो काम गर्न नसकेको आरोप लगाए।
‘राजनीतिक गतिविधिमा सही दृष्टिकोण राखेन । सही अडान लिएन । यसैले यस्तो पार्टीमा बसेर अलमलिनु हुँदैन । सही कुरा र काम यता गर्न सकिन्छ भनेर म कांग्रेसमा प्रवेश गरेको हुँ’ उनले भने, ‘एमाले छोडेर कांग्रेसको नेता हुनका लागि म आएको होइन । कांग्रेसको, नीति सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्याउन म नेपाली कांग्रेसमा प्रवेश गरेका हुँ ।’
प्रतिक्रिया दिनुहोस