फागुन १९, २०७८
चाैतारा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ मा कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष बमबहादुर तामाङले पनि पार्टी छाडेको घोषणा गरेका छन्। उनी कांग्रेसको पूर्व जिल्ला सदस्य एवम् अहिले क्षेत्रीय प्रतिनिधि पनि हुन्।
उनले पछिल्लो केही वर्षयता कांग्रेस सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको गुनासो गरेका छन्।
‘यसका साथै पार्टीले जनचाहाना विपरीत एमसीसी पास गर्ने, कार्यकर्ताहरुले भनेको कुनै कुराको सुनुवाइ नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिबादी सोच बढी हावी हुने जस्ता गतिविधिले कांग्रेस कार्यकर्ता निराश भएका छौँ’, उनले भनेका छन्, ‘माओवादी द्वन्द्वकालमा समेत पार्टीको गतिविधिमा सक्रिय भएको सबैलाई अवगत छ। पार्टीमा निरन्तर लागिरहँदा माओवादीहरुले मलाई गोली हानेर घाइते बनाएका थिए। तर तपाँइहरुको सबैको माया, ममताका कारण म गोली लागेपनि बाच्न सफल भएँ।’
उनले पार्टीमा दिनरात नभनी काम गरेपनि केही नेताहरुले कहिले जस नदिने, सार्वजनिक स्थानमा अपमान गर्ने क्रियाकलाप भएको बताएका छन्।
‘एउटा लोकतान्त्रिक पार्टीभित्र काम गर्दै गर्दा पनि सधैँ अपमानित भएर बस्न मलाई मेरो नैतिकताले दिएन। पार्टीभित्र नैतिकहीन, अनुशासनहीन नेताको कार्यकर्ता भएर नबस्न म सिन्धुपाल्चोकका आमकांग्रेस नेता कार्यकर्तासँग आग्रह गर्दछु’, उनले भनेका छन्, ‘लोकतान्त्रिक पार्टीभित्रको यो अलोकतान्त्रिक क्रियाकलाप टुलुटुलु हेरेर बस्नुभन्दा विद्रोह गर्न मेरो अन्तरआत्माले भन्यो।’
उनले ३२ वर्षमा माया गरेको, रगत पसिना बगाएको पार्टी कांग्रेस बिहीबारदेखि नै परित्याग गरेको घोषणा गरेका छन्। ‘म राजनीतिक प्राणी भएकाले फेरी राजनीतिक मोर्चाबाटै तपाईं सबैसँग भेटघाट हुने नै छ’, उनले भनेका छन्, ‘मन साटासाट हुने नै छ। फेरि पनि तपाईँहरूको माया र ममता र स्नेह पाउने नै छु।’
प्रतिक्रिया दिनुहोस