फागुन ११, २०७८
चाैतारा । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ) निष्काशनमा ल्याएको छ।
लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।
लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपिओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।
लघुवित्तको आइपिओमा फागुन ११ गतेदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन २५ गतेसम्म म्याद थप हुनेछ।
आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ।
लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ र चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ।
सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आइपिओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस