२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पुल नबन्दा तुइनको भर, भन्छन् : जसले बनाइदिन्छ उसैलाई भोट

  • २०७८ फागुन १, आईतबार मा प्रकाशित २ साल अघि
  • फागुन १, २०७८

    चौतारा । गत असार १ मा ब्रम्हायाणी र नेशमखोलामा आएको बाढीले यसको तट क्षेत्र पूरै ध्वस्त बनायो । यी दुई खोला तर्ने दुई वटा झोलुंगे पुल चुडिँएपछि स्थानीय बर्खाभर गाउँमै थुनिए, ब्रम्हायाणीतिरका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए ।

    झोलुंगे पुल चुँडिएपछि जिल्लाको सदरमुकाम चौताराबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको जुगल गापाको पुछारका गाउँ दिपु ,तेगा र तेम्बाथानबीच आपसी सम्पर्क पूरै टुट्यो, सडक, बिजुलीदेखि उच्च शिक्षाजस्ता विकासको पर्खाइमा वर्षौंदेखि कुरेर बसेका तीन गाउँभरका दुई सय २० परिवार बजारक्षेत्रसँग जोड्ने पुल बगाएपछि थप समस्यामा परे ।

    अझैसम्म सडक नजोडिएका यी गाउँका स्थानीय त्राहिमाम भएर सरकारलाई गुहारिरहे । सरकारले नसुनेपछि स्थानीय आफै कस्सिएर दिपु र तेगा जोड्ने काठको फड्के हाले । नेशमखोलामा भने माओवादीका नेता, कार्यकर्तासहित अन्य समाजसेवीले चन्दा संकलन गरेर तुइन हाले ।

    ‘नेशमखोलामा हालिएको तुइन र तेगा फड्के दुवै जोखिमपूर्ण छ । यही यात्रा गरेर स्थानीय घण्टौ पैदल हिँडेर दैनिक उपभोग्य सामाग्री लिएर बजार पुग्छन्, । यो हाम्रो दुःख, दुर्दशा सरकारले कहिल्यै देखेन्, ’ जुगल–३ तेम्बाथान्का मिङमार शेर्पाले दुखेसो गरे । अहिलेसम्म सडक नजोडिएकैले यहाँका गर्भवती, सुत्केरीदेखि बिरामी उपचारका लागि हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । जोखिमपूर्णं तेगा फड्के र चुँडिएको नेशमखोला झोलुंगे पुल तर्न खोज्दा दुईले ज्यान गुमाए । एक अझै भेटिएका छैनन् ।

    ‘झोलुंगे पुल नबनाइएसम्म यस्तो दुःखद् खबर कत्तिन्जेल सुनिरहनुपर्ने हो थाहा छैन्,’ उनले भने । २०७८ साउन ९ मा जडीबुटी संकलन गर्न नेशमखोला पुगेका तेम्बाथान गाउँकै ४० वर्षे छिमिग्याम्जो लामा (टाउके) पुल नहुँदा खोलामा हेलिएर तर्न खोज्दा बेपत्ता भए । गत पुस १६ मा माइत हिँडेकी दिपु २० वर्षीया छोरी पासाङल्मु शेर्पासहित नौ महिनाकी शिशु डोल्माछिरिङले तेगा काठको फड्के पुल तर्न खोज्दा खसेर ज्यान गुमाए ।

    अध्यक्ष श्रेष्ठले नेशमखोलामा चुँडिएको ७९ मिटर लामो झोलुंगे पुलको प्राविधिक अध्ययन ‘सर्वे’ सकाएर स्थानीय निर्माण समितिसँग सम्झौता भइसकेको उल्लेख गरे । ‘५० लाखभन्दा माथि बजेट लागत लाग्ने देखिन्छ, हामीसँग पर्याप्त बजेट नभए पनि जसरी पनि जिम्मेवारी लिएर झोलुंगे पुल जोडेर छाड्नेछौं, यसमा निर्माण पक्ष पनि स्थानीय उत्साहित छन्,’ उनले भने ।

    तेगाको झोलुंगे पुलको भने प्रक्रियामा राखिए पनि आर्थिक समस्याका कारण अघि नबढेको उनले स्विकारे । नेशमखोलामा बाढी आउनुको कारणलाई प्राविधिक अध्ययन गर्दा माथिल्लो भेगमा निर्माणाधीन सिन्धुज्वाला जलविद्युत् आयोजनाको कारण भएको देखिएको उनले बताए । ३६ मेगावट जलविद्युत् आयोजनाले जथाभावी फालेको कच्चा सामग्री माथिल्लो नदीक्षेत्रको भेगमा आएर थुप्रिएको थियो, त्यसैले खोला थुनिँदा आएको बाढीले पुल चुँडाएर बगाएको थियो ।

    ‘जसले बनाइदिन्छ, उसैलाई भोट’

    ‘जसले सडक, पुल जोडिदिन्छ, बिजुली बालिदिन्छ, उच्च शिक्षा बनाइदिन्छ, उसैलाई भोट हालिन्छ,’ जुगलको अन्तिम गाउँ दिपु ,तेगा र तेम्बाथानवासीको एउटै नारा हो यो ।

    यी गाउँमा चुनावमा भोट हाल्नका लागि स्थानीय नेता अघिल्लो दिनमै तेम्बाथान आइपुग्ने गर्छन् । मत माग्न पनि भ्याउँछन् तर, यहाँका स्थानीयले मत हाल्न पनि एक दिन हिँडेर गुम्बाथान आइपुग्नुपर्छ । यहाँ राज्यबाट उपलब्ध हुने सामान्य सेवा सुविधा पनि पाइँदैन । वृद्धवृद्धा र महिलालाई समस्या हुने भएकाले मतदान केन्द्र तेम्बाथानमा तोक्नुपर्ने अन्यथा मतदान बहिष्कार गर्ने स्थानीयले बताएका छन् ।कान्तिपुरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस