माघ २१, २०७८
चाैतारा । असार १ गतेको बाढीका कारण घरबारविहीन सिन्धुपाल्चोक बरुवाका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।
चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।
बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल–२ बरुवाका स्थानीयहरू सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् ।
याङरी खोला तटीय क्षेत्रमा बस्दै आएका उनीहरूको न कतै जग्गा छ न त बस्ने घर नै छ । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापित स्थानीय हरी बहादुर तामाङ बताए।
बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयहरूलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् । जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको अर्का स्थानीय पूर्ण थिङ बताउँछन्।
स्थानीय तहले बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस काम देखिएको छैन ।
बर्षायाम सुरु हुनु अगावै उनीहरूलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतीपूर्ण देखिए पनि सफल हुने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताए। उनले प्रदेश, केन्द्र सरकारसँग समन्वय गरिरहेको बताए।
निकै विकट यस क्षेत्रमा प्रदेश, केन्द्र सरकारको ध्यान नपुगेको वडा अध्यक्ष पासाङ लामा बताउँछन्।
याङरी खोला थुनिएर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाएको थियो भने १ सय ३० घर उच्च जोखिममा छ । वर्षा अगावै उनीहरूलाई सुरक्षित स्थानमा आवाससहित स्थानान्तरण गर्नु स्थानीय सरकारको दायित्व रहेको पीडित बताउँछन् ।
प्रतिक्रिया दिनुहोस