माघ १६, २०७८
चौतारा । कोरोना महाव्याधिसँग सावधानी अपनाएर चीन स्वशासित तिब्बतसँग जोडिएको उत्तरी नाका तातोपानीबाट दुई वर्षदेखि आयात मात्रै भइरहेको छ । आयातका लागि एकतर्फी खुला भएको नाकामा ‘हुक एन्ड ड्रप’ प्रणाली लागू गरिएको छ ।
खासाबाट मितेरी पुल आएका सामग्रीलाई ठूला चिनियाँ टेलरमा लोड गरिन्छ । केही टेलरलाई सिलबन्दी गरिए पनि अधिकांश टेलर खुला आउँछन् । गत वर्षसम्म तातोपानी भन्सारले कुनै पनि सामग्री खुला नल्याउने कार्यविधि बनाएको थियो ।
तर, अहिले चिनियाँ टेलरमा खुलमखुला सामग्री हालेर लार्चा भन्सारमा ल्याइन्छ । मितेरी पुलको आधा भाग चिनियाँ क्षेत्र पर्छ । पुलको आधा भागमा रहेको रेडलाइनबाट तातोपानी भन्सार लार्चासम्म चार किलोमिटर पर्छ । विनासिल मितेरी पुलदेखि लार्चासम्म आउने खुला चिनियाँ टेलरबाट सामान हराउने सम्भावना रहेको व्यवसायीहरू बताउँछन् ।
खुला सामान ल्याउँदा तस्करी हुने डर
नेपाली मूलका मानिस खासा, रमिते र लाप्टाङमा बस्छन् । ती नेपाली भाषी तिब्बतीको सीमाक्षेत्रका मानिससँग निरन्तर सम्पर्क भइरहन्छ । खासा क्षेत्रमा रहेका कतिपय चिनियाँ तस्करीले ती मानिसमार्फत नेपालतर्फ सम्पर्क गरेर अवैध सामग्री तस्करी गर्छन् ।
खासा क्षेत्रबाट खुला टेलरमा हालेर पठाएको जुनसुकै सामग्री मितेरी पुलको आधा भागबाट लार्चा भन्सारसम्म आउँदा जतिवेला पनि बाहिर निकाल्न सकिन्छ । बीचबाटोमा न भन्सारको चेकप्वाइन्ट छ, न त सुरक्षा जाँच नै हुन्छ । नाका एकतर्फी रहेकाले तातोपानीबाट बाह्रबिसेसम्म प्रहरीले चेकजाँच गर्दैन । त्यसैको फाइदा उठाएर तस्करले अवैध सामग्री ल्याउने सम्भावना रहन्छ ।
स्थानीयको भनाइअनुसार साँझपख र रातको समयमा आउने खुला टेलरबाट बीचबाटोमा तस्करले सामान निकाल्छन् । सरकारी नियममा कुनै पनि सामग्री सीमाक्षेत्रबाट भन्सारसम्म खुला ल्याउन पाइँदैन ।
तिब्बत सिल्क र मुसा ट्रान्सपोर्टले खासाबाट लोड गरेर तातोपानी पठाएको सामग्री नेपालतर्फ सिल्क र नमस्तेले बुझ्ने गर्छन् । मितेरी पुल कट्नासाथ रहेका अध्यागमन र सीमा सुरक्षा फौज सशस्त्र प्रहरीले कस्ता सामान आयात भएको भन्ने जानकारी नै पाउँदैनन् ।
विगतमा बन्द कन्टेनरमा सामान ल्याउँदा सिल लगाएको हुन्थ्यो । जुन भन्सारको अनुमतिमा जाँचकीले मात्रै खोल्न पाउँथे । मानिसले उचाल्न नसक्ने र ठूला परिमाणको सामान लिफ्ट गरेर टेलरमा राख्ने नियम भए पनि मानिसले हातले उचालेर बोक्न सक्ने सामग्री खुला टेलरमा आयात–निर्यात गर्न चिनियाँ क्षेत्रमा भने प्रतिबन्ध छ ।
नेपालपट्टि भइरहेको अवैध गतिविधिलाई चिनियाँ पक्षले मतलब गर्दैनन् । पाँच महिनादेखि सीमा र भन्सारसम्बन्धी द्विपक्षीय बैठक नहुँदा समस्या आएको गौतमले बताए । विच्याटका भरमा काम गर्दा नाकामा असहजता थपिएको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस