माघ ९, २०७८
चौतारा । गत असार १ गते आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाट गर्ने निर्णय गरेको छ ।
भेरिएसनका आधारमा भुक्तानी दिने गरी काम अघि बढाउन सिनो हाइड्रोसँगै सम्झौता गर्ने प्रक्रिया अघि बढाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक विष्णुदेव पौडेलले जानकारी दिए।
मंगलबारसम्ममा सम्झौताको काम सकेर यसै हप्तादेखि फिल्डमा काम शुरु गर्ने तयारीका साथ काम अघि बढाएको पौडेलले बताए। समितिले यसै चैत महिनाभित्र काठमाडौं उपत्यकामा पानी ल्याउने लक्ष्य राखेको छ । तर, काम शुरु गर्न ढिलाइ भएकाले लक्ष्य पूरा गर्ने समय केही पछि धकेलिन सक्ने उनको भनाइ छ ।
मुहान र अन्य कार्यक्षेत्रमा कामदारका लागि अस्थायी आवास निर्माणको काम शुरु भएको छ । बाढीपहिरोले प्रभावित बनाएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ ।
मेलम्ची खानेपानी समितिले कार्ययोजना बनाएर काम अघि बढाउने बताए पनि सात महिनासम्म काम ढिलाइ गरेर प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको उपभोक्ताको आरोप छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।
बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्ब ८८ करोड रुपियाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिब ३५ अर्ब लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षणस्वरुप वितरण गरेको थियो । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट काठमाडौंमा मेलम्चीको पानीलाई धाराबाट उद्घाटन गरेका थिए।
२०२९ मा खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन शुरु भएको थियो भने २०६४ मा नेपाल सरकार र प्रमुख दाता एशियाली विकास बैंकबीच आयोजना पुनःसंरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति सहित काम अघि बढाए पनि हालसम्म काम पूरा हुन नसक्दा उपात्यकाका उपभोक्ताहरु तत्काल प्रभावकारी काम अघि बढाएर पानी उपलब्ध गराउन माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस