पुस २३, २०७८
चौतारा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले केही दिनमै सिन्धुपाल्चोक एमालेमा पहिरो जाने बताएका छन् ।
काठमाडौंको शंकरापुर नगरपालिका–२ मा आयोजिक एक कार्यक्रममा पार्टी अध्यक्षले नेपालले ‘एमालेमा रहनुभएका साथीहरू अन्याय र अत्याचारबाट आजित भएको बताउदै एमालेमा विद्रोहको लहर चलेर ठाउँ ठाउँबाट एमालेमा पहिरो गइरहेको बताएका थिए।
एमाले केन्द्रीय सदस्य नपाएपछि पूर्वसांसद सुवास कर्माचार्यले पार्टी छाडेको घोषणा गरेको केही दिनमै अध्यक्ष नेपालले एमाले सिन्धुपाल्चोकमा पहिरो जाने दाबी गरेका हुन्।
त्यसो त कर्माचार्य केही दिनमा नै एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा छन्। उनी पार्टी विभाजन हुनुअघि माधव नेपाल समूहमै थिए।
उनले एमाले छाड्ने बेलामा आफू मात्रै नहुने सार्वजनिक रुपमा दाबी गर्दै आइरहेका छन्।
उनले सार्वजनिक रुपमै भनेका थिए, ‘एमाले छाड्ने म एक्लै हुनेछैन। मसँग धेरै साथीहरु हुनुहुन्छ।’
सिन्धुपाल्चोक एमालेमा कर्माचार्यको बलियो पकड छ। १२ स्थानीय तहमा चौतारा साँगाचोकगढी, जुगल, इन्द्रावती, हेलम्बु, बलेफी, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकामा कर्माचार्यको पकड छ । एमाले विभाजन नहुँदा सिन्धुपाल्चोकमा ७० प्रतिशत नेता–कार्यकर्ता माधव नेपाल पक्षधर मानिन्थे ।
अधिवेशनको पुर्व सन्ध्यामा एमालेका जिल्ला कमिटी सदस्य पुर्णबहादुर तामाङले पार्टी परित्याग गरेको घोषण गरेका छन् । लामो समय नेपाल कम्युनिष्ट आन्दोलनमा आवद्ध रहि हाल नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका साँगाचोकका तामाङले विज्ञप्ती निकाल्दै पार्टी छाडेको घोषणा गरे।
पार्टीभित्र देखापरेको व्यक्तिवादी, अहमता र विकृति बढ्दै गएको भन्दै पार्टीसँगको आवद्धता साधारण सदस्य समेत नरहने गरी समाप्त भएको उनले घोषणा गरे।
जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य विष्णुलाल श्रेष्ठ समेतले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
त्यसो त अध्यक्षको भनाइजस्तै सिन्धुपाल्चोकमा असन्तुष्ट नेताहरुले पार्टी छाडेको घोषणा गर्नु एमालेमा पहिरो जाने आकलन गर्न थालिएको छ।
प्रतिक्रिया दिनुहोस