पुस १९, २०७८
चाैतारा । पछिल्लो समय नेकपा (एमाले) र माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा विपरीत ध्रुवमा छन्। एमाले माओवादी सम्मिलित अहिलेको सरकारलाई परमादेशको सरकार भनिरहेको छ भने माओवादी केन्द्रले एमालेलाई प्रतिगमनकारी भनिरहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बन्ध तिक्ततापूर्ण छ। सार्वजनिक मञ्चमार्फत् उनीहरू एक-अर्काको आलोचना गरिरहेका हुन्छन्।
एउटा परिवारमा भने यी दुई पार्टी मिलेर बसेका छन्! श्रीमान्-श्रीमती नै यी दुई फरक-फरक पार्टीमा लागेका छन्। उनीहरू हुन् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान र उनका श्रीमान् पूर्वमन्त्री दावा तामाङ। कुमारी माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् भने दावा एमालेका।
दावा चितवनमा भएको एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन् भने कुमारी आइतबार सकिएको माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य बनेकी हुन्।
कुमारी र दावा माओवादी पृष्ठभूमिबाट आएका हुन्। उनीहरू दुबै जनाले २०६४ को संविधान सभा चुनावमा जितेका थिए। कुमारी मकवानपुरबाट र दावा सिन्धुपाल्चोकबाट निर्वाचित भएका थिए।
माओवादी विभाजन हुँदा कुमारी र दावा मोहन वैद्यसँगै गएका थिए। वैद्य समूहमा उनीहरू नेता रामबहादुर थापासँग नजिक थिए। थापाको समूह फेरि माओवादीमा आउँदा उनीहरू पनि फर्किएका थिए।
२०७४ को चुनावमा कुमारी मकवानपुर र दावा सिन्धुपाल्चोकबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए। कुमारी निर्वाचित भइन् भने दावा चुनावमा हारे।
गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि दावा ओलीतिर लागेका थिए। ओलीले दावालाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए। नेकपा विवादमा कुमारी भने प्रचण्डतिर थिइन्।
पोहोर फागुनमा सर्वोच्चको आदेशबाट नेकपा विघटन भएपछि कुमारी र दावा फरक-फरक पार्टीमा लागे। बागमतीमा अष्टलक्ष्मी शाक्यको सरकार ढलेपछि बनेको राजेन्द्र पाण्डेको सरकारमा कुमार मन्त्री बनेकी छन्।
दुबै जनाको विचार फरक भएकाले श्रीमान् र आफ्नो पार्टी फरक भएको बताइन्।
‘म यही पार्टीमा हुर्किएँ। यही पार्टीले देशमा यत्रो परिवर्तन ल्यायो। म आज जहाँ छु, माओवादी पार्टीकै कारणले छु,’ उनले भनिन्,‘उहाँलाई अर्कै पार्टी मन पर्यो त्यो उहाँको कुरा भयो।’
पहिला त तपाईंहरूको परिवारमा पारिवारिक सँगै राजनीतिक कुरा हुन्थ्यो होला, अहिले हुन्छ कि हुन्न ? भन्ने प्रश्नमा कुमारीले भनिन्, ‘तपाईं आफैं कल्पना गर्नुस् न यस्तो अवस्थामा कसरी राजनीतिक कुरा हुन्छ होला ?’
प्रतिक्रिया दिनुहोस