२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

एमाले ओलीको भजन गाउनेहरुकाे भजन मण्डली बनेपछि विद्रोह : सुवास कर्माचार्य

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • पुस १२, २०७८

    चौतारा । नेकपा एमाले परित्याग गरेको पूर्वसांसद सुवास कर्माचार्यले एमाले अध्यक्ष केपी शर्मा ओलीको भजन गाउनेहरुको भजनमण्डली बनेपछि विद्रोह गरेको बताएका छन्। आइतबार पार्टी परित्याग घोषणा गरेको कर्माचार्यले सोमबार एक सञ्चारमाध्यमसँगकाे अन्तर्वार्ता दिँदै यस्तो बताएका छन्।

    कर्माचार्यले भने, ‘पहिलो कुरा त मैले पार्टी छोडेको होइन, विद्रोह गरेको हो । नेकपा एमाले हामीहरूले नै बनाएका हौँ । हजारौँ कार्यकर्ताको त्याग, बलिदान र मेहनतबाट एमाले बनेको हो । त्यसकारण यसलाई नेकपा एमालेभित्र अहिले नेतृत्वमा देखापरेका गलत प्रवृत्ति, सोच, व्यवहारका विरुद्ध गरिएको विद्रोह हो भनेर बुझ्नुपर्छ ।’

    पार्टी परित्याग र छोडेको नभई गलत कुराविरुद्धको विद्रोह गरेको उनको भनाइ छ। केपी ओलीले नेतृत्व गरेको पार्टी दिनप्रतिदिन संगठनात्मक हिसाबले, वैचारिक हिसाबले कम्युनिस्ट आन्दोलनको मूल्यमान्यता, आदर्श, विचार र नीतिबाट स्खलित हुँदै गएको उनको आरोप छ।

    ‘एमाले पार्टी नभएर ओलीका भजन गाउनेहरूको भजन मण्डली बनेपछि यसका विरुद्ध विद्रोह नगर्ने हो भने नेपालको कम्युनिस्ट पार्टी विसर्जनको दिशातिर जाने भएकाले मुलुकको कम्युनिस्ट आन्दोलन जोगाउन र जगेर्ना गर्नका लागि मैले विद्रोह गरेको हुँ’ उनले भने।

    राजनीतिक निर्णय व्यक्तिगत मात्रै नभई सामूहिक निर्णयमा हुने उनले बताए।

    ‘हामी जहाँ छौ त्यहाँ समूह छ, धेरै साथीहरू हुनुहुन्छ । हामीले विद्रोहको बिगुल बजाएका छौँ । त्यसैले हाम्रो समूह सक्रिय राजनीति र कम्युनिस्ट आन्दोलनभित्रै रहन्छ’ उनले भने, ‘हिजो बोकेको विचार र दृष्टिकोणबाट हामी विचलित भएका छैनौँ । त्यसैले अहिले नै यो गर्ने भनेर निष्कर्ष पनि निकालिसकेको छैन । तर, तपाईंले बुझ्दा हुन्छ हामी जोसँग दृष्टिकोण र व्यवहार मिल्नपुग्छ त्यसैमा संगठित भएर, संगठित बनाएर केपी प्रवृत्ति विरुद्धमा उभिने नै हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस