पुस १२, २०७८
चौतारा । सिन्धुपाल्चोकको जुगल हिमशृंखलाअन्तर्गतका ६ वटा चुचुरो आरोहण सहजताका लागि बेसक्याम्प ङ्याङखर्क पुग्नुअघिको पहरोमा बनाइएको ‘भिया फराता’ अर्थात् फलामे पदमार्ग ।
पर्यटन विभागको ३ करोड रुपैयाँ बजेटमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिं गुरुङको अगुवाइमा ७ जना माउन्टेन गाइडले २५ दिन लगाएर उक्त पदमार्ग बनाएका हुन् ।
‘८० मिटर लामो यो पदमार्ग समुद्री सतहबाट ४१ सय मिटर उचाइमा छ, यसले जुगलका ११ मध्ये ६ हिमचुचुरो आरोहण गर्न सहज हुनेछ,’ सन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङले भने । पदमार्गमा हजार वटा फलामे सिँढी छन् ।
२ सय मिटर लामो पहरोमा निर्माण गरिएको यो पदमार्गमा सुरक्षा सामग्री र गाइडबिना चढ्न निषेध गरिएको उनले बताए । विशेषतः युरोपेली मुलुक तथा अमेरिकामा भिया फरातालाई हिमाली क्षेत्रमा साहसिक खेलका रूपमा समेत लिने गरिन्छ । विश्वयुद्धताका एक गाउँबाट अर्को गाउँमा गएर आक्रमण गर्न यसको प्रयोग गरिएको पाइन्छ । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस