पुस ७, २०७८
जलबीरे । ब्रह्मायणी करिडोरकै शैक्षिक धरोहरको रुपमा परिचित जलबीरे भ्याली क्याम्पसले आफ्नो ११ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।
स्थापनाको छोटो समयमा नै जिल्लामा आफ्नो बेगल पहिचान बनाउदै गरेको क्याम्पसले आफ्नो बार्षिकोत्सवलाई क्याम्पसको बिहङ्गम बिकासकासँग जोडेर कार्यक्रम आयोजना गरेको थियो ।
अधिकांश विद्यालय वा क्याम्पसको कार्यक्रम औपचारिक हुने गरेता पनि यो क्याम्पसले भने औपचारिकतासँगै क्याम्पसका शैक्षिक र भौतिक बिकासका लागि आगामी एक बर्षिय कार्य योजना प्रस्तुत गरेको थियो ।
बुधबार सम्पन्न वार्षिकोत्सवमा क्याम्पस प्रमुख राजेशकुमार थापाले हालसम्मको कार्यप्रगती, समस्या र चुनौती प्रस्तुत गरे भने क्याम्पस संचालक समितिका अध्यक्ष एवम माओवादी केन्द्र, सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा सुवोधले आगामी १ बर्षका लागि तयार गरेको लक्ष्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
अध्यक्ष सापकोटाद्वारा प्रस्तुत १७ बुँदे कार्यक्रम तथा लक्ष्यमाथी बक्ताहरुले टिप्पणी गरेका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरु, शैक्षिक अभियन्ताहरुले आ आफ्ना धारणा राख्दै अध्यक्ष सापकोटाद्वारा प्रस्तुत कार्यक्रम तथा लक्ष्य समसामयिक र महत्त्वपूर्ण भएकोले सबै एकजुट भएर यसतर्फ लाग्न अपिल गरे ।
प्रमुख अतिथि एवम् विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. भीमप्रसाद उपाध्यायले संगसंगैका क्याम्पसहरुले एउटै बिषय वा संकाय अध्यापन नगर्न सुझाव दिए । संगसंगैको क्याम्पसहरुले एउटै संकाय अध्यापन गर्दा विद्यार्थीको आकर्षण घट्ने उनको भनाई थियो ।
बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले २ बर्षको अन्तरालमा क्याम्पसले मूहार नै फेरेको जिकिर गरे । अध्यक्ष क्षेत्रीले सापकोटा संचालक समितिका अध्यक्ष भए यता छोटो समयमै क्याम्पसले शैक्षिक र भौतिक विकास गरेको बताउदै अध्यक्ष सापकोटालाई धन्यवादसमेत दिए ।
उनले हरेक बर्ष पालिकाबाट १० लाख बिनियोजन गरिने पनि प्रतिबद्धता जाहेर गरे । जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका ६० प्रतिशत भन्दा बढी बिध्यार्थी अध्यनरत सो क्याम्पसमा जुगल र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग पनि अपरिहार्य भएको उनले बताए ।
२०६७ सालमा समाजसेवी एवम् माओवादी केन्द्रका नेता गोकर्णदास श्रेष्ठको नेतृत्वमा स्थापना भएको यो क्याम्पस हाल आफ्नै तीन रोपनी जग्गाभित्र एक पक्की भवनमा संचालित छ । २ बर्ष अघिसम्म क्याम्पस अस्थाई टहरोमा संचालन हुँदै आएको थियो ।
संचालक समितिका अध्यक्ष माधव सापकोटा सुवोधको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजकुमार ढुंगानाले गरेको थिए भने संचालक समितिका उपाध्यक्ष तेजबहादुर थापाले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस