२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एमालेले विचाराधीन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पार्न खोज्यो : सभामुख

  • २०७८ पौष ६, मंगलबार मा प्रकाशित २ साल अघि
  • पुस ६, २०७८

    चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन्।

    सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै एमालेलाई सचेत पनि गराएका हुन्।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरूले नाराबाजीसहित अवरोध गरेपछि उनले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न पटकपटक आग्रह गरे। राष्ट्र हितको कैयौं विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद अवरुद्ध पारेर एमालेले संसदीय विधी र प्रक्रिया विपरित काम गरिरहेको बताए।

    सभामुख सापकोटाले भने, ‘परिस्थित र परिवेश सधैं एकै रहँदैन। समसामयिक राजनीतिक परिस्थितिलाई राष्ट्रिय हितमा ध्यान राखि कार्य सम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु संसदको प्रमुख कर्तव्य पनि हो। उल्लेखित विषयबस्तु मनन् गर्दै सहज सभा संचालनमा सहयोग गर्न सम्पूर्ण माननीय सदस्यहरूको ध्यानाकर्षण गर्दछु।’

    जनप्रतिनिधिहरूको सर्वोच्च निकाय संघीय संसद एवं संसद्‍ सदस्यले स्वीकृत विधी, पद्धति एवं प्रक्रिया पालन गर्ने कुरामा अझै बढी संवेदनशील हुन र प्रतिवद्ध आग्रह गरे।

    ‘नेपालको संविधान अनुसार बैठक संचालनमा आवश्यक सहयोग गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरूले नेपालको संविधानको धारा १ को ५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सन्दर्भमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमाथि संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु’ सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख ग र घ का प्रावधानहरू हामी सबैले पालना गर्नुपर्ने प्रावधानहरू हुन। उल्लेखित प्रावधानहरू पालनाका लागि पुनः अनुरोध गर्दछु।’

    सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरू अघि बढाउन पनि संसदलाई सुरु गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस