पुष ४, २०७८
चौतारा । सिन्धुपाल्चोक जिल्लाको मुडेदेखि दोलखाको चरीकोटसम्मको सडकखण्डको सडक निर्माण कार्य पुनः सुरु भएको छ ।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा जोड्ने उक्त सडकको काम गत पाँच महिनादेखि बन्द थियो । रोकिएको सडक निर्माणको ठेक्का सुनौला खिम्ती निर्माण कम्पनीले पाएको हो ।
लामोसाँघु–चरीकोटसम्मको अरनिको राजमार्गअन्तर्गत मुडे–चरीकोटको काम रोकिएपछि सिन्धुपाल्चोक र दोलखाका स्थानीयवासीले सडक निर्माण कार्य छिटो पूरा गर्न दबाब दिँदै आएका थिए ।
५४ किलोमिटर लम्बाइको अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको मुडेदेखि दोलखाको चरीकोटसम्म ३० किलोमिटर लम्बाइ रहेको छ । शकिल हैदर, शङ्कर माली र सुनौला खिम्तीको संयुक्त ठेक्कामा रहेको मुडे–चरीकोट सडकखण्डको काम बीचमा रोकिएर विवादित बनेको थियो ।
सुनौलो खिम्ती निर्माण कम्पनीका इन्जिनियर गणेश भण्डारीले बीचमै रोकिएको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित पुनः सुरु गरिएको बताए।
केही महिनाअघि लामोसाँघुदेखि मुडेसम्मको २४ किलोमिटर सडकको कालोपत्रे सम्पन्न काम सम्पन्न भएको छ तर मुडे खण्डको काम रोकिएको थियो ।
मुडेदेखि चरीकोटसम्म छ किलोमिटर सडक पहिलो सतह कालोपत्रे भएको छ । १२ किलोमिटर बेस बिछ्याउने काम सकिएको छ । १२ किलोमिटर सडकमा बेस बिछ्याउने काम धमाधम भइरहेको छ ।
मुडे–चरीकोट सडकको वाल, नाली, ह्युमपाइपलगायत ७८ प्रतिशत काम काम सकिएको छ । इन्जिनियर भण्डारीका अनुसार आगामी पुस र माघ महिनामा सबै पूर्वाधार तयार गर्ने र २०७९ वैशाखसम्म कालोपत्रे सम्पन्न गर्ने योजना छ ।
भारतीय एक्जिम बैङ्कको वित्तीय सहयोग रहेकोले भारतीय निर्माण कम्पनी शकिल हैदरको ५१ प्रतिशत सेयर रहेको छ । सडक निर्माणमा विविध अवरोध रहेको भन्दै शङ्कर मालीले बीचमा नै काम रोकेको थियो ।
प्रतिक्रिया दिनुहोस