मंसिर १२, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै नेपालसहित दक्षिण–पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । संगठनले आइतबार एक विज्ञप्तिमार्फत सबै देशहरूले सर्भेलेन्स, सामाजिक दुरी, जनस्वास्थ्यका मापदण्डका साथै खोप कार्यक्रमलाई तीव्रतकासाथ लानुपर्ने सुझाएको हो ।
विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई ‘भेरियन्ट अफ कन्सर्न’को श्रेणीमा राखेको छ । दक्षिण अफ्रिकापछि युरोपका बेल्जियम, जर्मनी, अस्ट्रेलिया लगायत नौवटा मुलुकमा यो भेरियन्ट फैलिएको संगठनले बताएको छ ।
आइतबारसम्म अस्ट्रेलिया, बेलायत र जर्मनीमा दुई–दुई जनामा यो भेरियन्ट देखिएको छ । यसैगरी इटलीमा एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । नेदरल्यान्ड, बोत्सवाना, बेल्जियम र हङकङमा पनि यो भेरियनट फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यस्तै इजरायलमा एक जनामा यो भेरियन्ट देखिएपछि त्यहाको सरकारले विदेशीलाई आफ्नो देशमा प्रवेशमा रोक लगाउने भएको छ । मन्त्रिपरिषद्ले पूर्ण स्वीकृति दिएपछि आइतबार मध्यरातबाट १४ दिन प्रतिबन्ध लागु हुने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यता बेलायतले दक्षिण अफ्रिकासहित ६ वटा अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाइसकेको छ । विभिन्न मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।
प्रतिक्रिया दिनुहोस