कात्तिक २२, २०७८
चौतारा : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको आयोजनाअन्तर्गतको यांग्री र लार्के खोलाको पानी ल्याउने डिजाइन परिवर्तन हुने भएको छ।
मेलम्चीमा आएको बाढीका कारण काठमाडौं उपत्यकामा ल्याउने पानीको डिजाइन परिवर्तन गर्न लागिएको हो।
मेलम्ची खानेपानी आयोजनाका अनुसार यांग्री र लार्के खोलाको पानी मेलम्ची खानेपानीको हेडवर्क्समा जम्मा पारी उपत्यकामा ल्याउने योजना थियो। बाढीका कारण आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुगेकाले अब सीधै पानी सुरुङमा छिराउने योजना बनेको छ।
‘पहिला बनेको डिजाइनको पुनरावलोकन भइरहेको छ’‚ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने, ‘फेरि पनि वर्षामा बाढीको समस्या नदोहोरिएला भन्न सकिन्न। त्यसैले डिजाइन परिवर्तन हुने सम्भावना छ।’
उनका अनुसार यांग्री र लार्केमा नै हेडवर्क्स बनाएर सोझै सुरुङ मार्गमा जोड्ने गरी बनाउन लागिएको छ। सरकारले पहिलो चरणमा मेलम्चीको खानेपानी आयोजना सुरु भएको दुई दशकपछि उपत्यकामा पानी ल्याएको थियो।
मेलम्चीबाट ल्याइएको पानी चैत १५ देखि उपत्यकामा वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर नै पानी वितरण गरिँदै आएको थियो।
तर सुरुङ परीक्षण गर्न भन्दै आयोजनाले असार १ देखि उपत्यकामा पानी पठाएको थिएन। सोही दिन मेलम्ची र इन्द्रावतीमा आएको ठूलो बाढीले आयोजनामा क्षति पुर्यायो। फेरि साउन १६ र १७ गते फेरि आएको बाढीले आयोजनामा थप क्षति पुर्याएको थियो।
आयोजनाका प्रवक्ता पन्तका अनुसार बाढीले खानेपानीको हेडवर्क्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ। बाढीका कारण १ अर्ब रुपैयाँभन्दा बढीको आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट दैनिक १७र१७ करोड लिटर गरी ३४ करोड र मेलम्चीकै १७ करोड लिटर गरी कुल राजधानीमा दैनिक ५१ करोड लिटर पानी ल्याउने सरकारको योजना छ तर अहिले मेलम्चीको पानी उपत्यकामा आएको छैन। जसकारण उपत्यकामा पहिला जस्तै पानीको हाहाकार मच्चिएको छ।
प्रतिक्रिया दिनुहोस