कात्तिक १७, २०७८
चौतारा : कोरोना संक्रमण बढ्न थालेपछि सिन्धुपाल्चोकमा जिल्लामा ‘सफ्ट लकडाउन’ गरिएको छ। कार्तिक ३० गते सम्मका लागि जिल्लाभर लकडाउन गरेको हो।
जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक १५ गते राती १२ बजे देखि कार्तिक ३० गते राती १२ बजेसम्म समयसीमा तोकी ‘सफ्ट लकडाउन’ गरेको हो ।
प्रशासन कार्यालयबाट जारी गरेको आदेशमा भनिएको छ, ‘संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी ‘सफ्ट लकडाउन’ गर्ने निर्णय गरिएको छ।’
लकडाउन अवधिभर अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुश गर्ने, जात्रा महोत्सब, भोज आदि नगर्न, तिहार, छठ आदि, स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा परिवार भित्र मात्रै मनाउन, देउसी, भैलो, नाटक, नाचगान नगर्न निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस