२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

बक्खुबाले प्रचण्डलाई भने- अरूलाई बनाउँदा आफ्नाहरू टाढिइसके

  • २०७८ कार्तिक १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक १५, २०७८

    चौतारा :सिन्धुपाल्चोकको विकट बस्ती गोल्चेभन्दा माथि लेकमा पर्छ सुञ्चगाउँ । जनयुद्धको वेला छापामार लुक्ने ठाउँ हो यो । सुञ्चगाउँका ७४ वर्षीय सुनकाजी गोलेले माओवादी सुप्रिमो भेट्ने चाहना गरेको थुप्रै वर्ष बित्यो । 

    ‘बक्खुबा’को नामले परिचित गोले जुगल गाउँपालिकाको तामाङ समुदायमा लोकप्रिय व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि माओवादीले राजधानीमा गरेको ६ दिने आन्दोलनमा राखिएको नाम हो बक्खुबा । आन्दोलनभर नयाँ बानेश्वरमा बक्खु लगाएर प्रत्येक दिन नाँचेकोले उनको नाम बक्खुबा रहन गएको हो । यिनकै घरमा बसेर माओवादी छापामारले जनयुद्धको योजना बनाउँथे ।

    गोलेले १० वर्षको उमेरदेखि बक्खु लगाउन सुरु गरेका थिए । ‘बक्खु लगाउन थालेको ६४ वर्ष भयो । सुत्ने वेलामा पनि लगाएरै सुत्छु,’ उनले भने । पाँचपोखरी लेकछेउमा भेडाबाख्रा चराउन बस्ने गोलेले ७४ वर्षको उमेरमा पनि हलो जोत्न छोडेका छैनन् ।

    छापामार हुँदै गाउँका भाइछोरा जनमुक्ति सेना भएर घर आउँदा बक्खुबा हतियार चलाउन चासो गर्थे । उतिवेला जनमुक्ति सेनाका कमान्डरलाई उनी सोध्ने गर्थे, ‘प्रचण्ड हाम्रो गाउँमा आउँदैनन् ।’ विकट लेकाली गाउँमा दुःख गरेर बसेका उनलाई प्रचण्ड भेट्ने इच्छा किन भयो ? प्रश्नको जवाफमा उनले भने, ‘प्रचण्ड साहसिलो मानिस हुन् ।’ गणतन्त्र ल्याउने नेतालाई भेटेर मात्रै मर्ने धोको रहेको उनले सुनाए ।

    प्रचण्ड भेट्ने चाहना बोकेर बक्खुबा शुक्रबार सुञ्चगाउँबाट काठमाडौं आएका हुन् । सुरुमा उनले माओवादी केन्द्रीय सदस्य माधव सापकोटा र जुगलका नेता रेशम स्याङ्बोलाई भेटे । प्रचण्डलाई भेटेर मात्रै घर फर्कने भनेपछि सापकोटाले प्रचण्डसँग भेट्ने समय मिलाएका हुन् । आइतबार बिहान ९ बजे बक्खुबा खुमलटार पुगे । किसानी कामले चिराचिरा परेका हातखुट्टा अनि कम्मरमा खुकुरी भिरेर उनले अध्यक्ष प्रचण्डसँग निर्धक्क कुराकानी गरे ।

    ‘प्रचण्डज्यू तपाईंले गर्दा गणतन्त्र आयो । यो नीति तपाईंको हो । तर, अरूलाई आफ्नो बनाउँदाबनाउँदा आफूतिर भएकाहरू अन्तै गए । टाउकाको मूल्य तोक्नेसँग अहिले तपाईं हुनुहुन्छ ।  तपाईंको दुःख मैले बुझेको छु ।’ विकट गाउँको वृद्धले यति गहकिलो कुरा गरेको सुन्दा प्रचण्ड छक्क परे ।

    उनले जवाफ फर्काए, ‘हाम्रो पार्टीमा पनि आएका छन् अरू । राजनीतिमा यस्तै हुन्छ ।’ प्रचण्डलाई भेट्ने धोको पूरा भएकोमा उनी निकै खुसी भए । प्रचण्डसँग उनले हाकाहाकी दुःखी, गरिब र गाउँलेलाई नबिर्सन सुझाव दिए । नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस