कात्तिक १३, २०७८
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालमाथि कटाक्ष गरेका छन्।
नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बिचरा माधव नेपाल किन कुदेको होला। कहिले पोखरा, कहिले धरान कहिले धनकुटा कहिले बागलुङ। हातमा टुप्पी लिएर हिँडेजस्तो। देश बनाउन होइन‚ एमाले बिगार्नका लागि हो। एमाले राणाशासनमा जन्मिएको हो। एमालेलाई बच्चै हुँदा मार्न खोजिएको थियो।’
देशबाट गरिबी हटाएर समृद्धि ल्याउनु नै समाजवाद भएको बताए। माधव नेपालले पार्टी विभाजन गरेर गएपछि एकीकृत पार्टीको नाम राखेको व्यङ्ग्य गरे।
ओलीले भने, ‘चोइटिएर जानेहरूले एकीकृत समाजवादी नाम राखेर हिँडेका छन्। हामीले त्यसरी समाजवाद ल्याउने भनेका होइनौँ। सुखी नेपाली समृद्ध नेपाल भनेकै समाजवाद हो।’
कम्युनिष्ट पार्टीलाई सिध्याउन प्रयास गरेको भए पनि असफल भएको जिकिर गरे।
‘कांग्रेसले सकेन, राजतन्त्रले सकेन। राणाहरूले सकेनन्। सबै शुद्धिएर आएको पार्टीलाई माधव नेपालले सिध्याउँछु भनेर हुन्छ। बेकारको तमासा गरेर कुदेको छ’‚ ओलीले भने।
एमाले सरकारले देश र जनताको काम गरेको देख्न नसकेको आरोप लगाए।
ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन्।
‘जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो। केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने। त्यसो भए’ ओलीले भने, ‘हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन्। तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे।’
अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस