२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

चीनको सीमासम्बन्धी नयाँ कानुन : नाकामा बढ्न सक्छ उच्च सतर्कता

  • २०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ११, २०७८

    चौतारा : चीनले आगामी जनवरीदेखि आफ्नो भू–सीमा रक्षासम्बन्धी नयाँ कानुन कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। यो चीनको नितान्त आन्तरिक कानुन हो। यद्यपि, यसले सीमा जोडिएका मुलुकहरुलाई प्रभावित तुल्याउन सक्छ।

    चीनसँग भू–सीमा जोडिएका १४ मुलुकमध्ये नेपाल पनि एक हो। त्यसैले चीनले अघि सारेको नयाँ कानुनप्रति नेपालले पनि चासो लिनुपर्ने सीमा सुरक्षा मामिला विज्ञहरु बताउँछन्।

    ७२ वर्षअघि जनवादी गणतन्त्र स्थापना भएयता पहिलोपटक चीनले भू–सीमा सुरक्षासम्बन्धी कानुन बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो। बेइजिङले सीमा सुरक्षासम्बन्धी कस्तो नीति लिन्छ र कस्तो कानुन बनाउँछ भन्नेबारे चीनसँग भू–सीमा जोडिएका दक्षिण एसियाका भारत, भुटानसहितका मुलुकले चासो व्यक्त गरिरहेका छन्।

    छिमेकीसँगका सीमा विवाद तथा सीमासँग सम्बन्धित अन्य सबै मामिला ती मुलुकसँग चीन सरकारले समानता, पारस्पारिक विश्वास र मैत्रीपूर्ण छलफलका माध्यमबाट संवाद गरी समाधान गर्न आवश्यक रहेको नयाँ कानुनमा उल्लेख छ।

    नेपाल र चीनबीच नियन्त्रित सीमा छ। तातोपानी र रसुवागढी मुख्य नाका हुन्। कोरला, हिल्सा र किमाथांकालगायत अन्य नाकाबाट आवातजावत र व्यापार न्यून छ। कोरोना महामारीयता चीनसँगका नाकाबाट आयातनिर्यात सहज हुन सकेको छैन। तिब्बतसँग जोडिएको सुरक्षा संवेदनशीलताका कारण पनि चीनले सीमामा कडाइ गरेको हुनसक्ने नेपाली सरकारी अधिकारीहरुको आकलन छ।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठ चीनले ल्याएको भू–सीमासम्बन्धी कानुनलाई नेपाल सरकारले राम्रोसँग अध्ययन गर्नुपर्ने बताउँछन्।

    ‘चीनसँग सीमा जोडिएकाले उसले भू–सीमा सुरक्षाका लागि कस्तो कानुन ल्याएको छ भन्ने कुरा नेपालका लागि चासोको विषय हो। सरकारले उक्त कानुनबारे अध्ययन गर्नु आवश्यक छ,’ उनले भने।

    भारतसँगको सीमा विवाद चर्किरहेका बेला चीनले सीमामा अझ बढी सुरक्षात्मक प्रबन्ध बढाउन खोजेको हुनसक्ने उनले बताए। अबका दिनमा नेपालसँगको सीमामा पनि चीनले सीमा सतर्कता बढाउनसक्ने श्रेष्ठको भनाइ छ।

    ‘चीनले भारतसँगको सीमामा मात्र नभएर नेपालसँगको सीमामा पनि अब उच्च सतर्कता र निगरानी बढाउने देखिन्छ। भारतसँगको सीमामा उनीहरुले बढी सुरक्षा तैनाथी बढाउँदा हामीलाई असर पर्छ नै,’ श्रेष्ठले भने,

    चीनसँगको सीमालाई चुस्त र व्यवस्थित राख्न चीनसँग सीमा सुरक्षा वार्ता गर्नुपर्ने सीमाविद् श्रेष्ठ बताउँछन्। लामो समयदेखि चीनसँगको सीमा वार्ता हुन नसकिरहेको बताउँदै हुम्लालगायत ठाउँमा देखिएका असमझदारी हल गर्न वार्ताले मद्दत पुर्याउने उनको भनाइ छ।

    सीमा जोडिएका चीनका छिमेकीमध्ये नेपालसँग सीमा विवाद छैन। तर, हुम्लामा चीनले सीमा मिचेको केही कांग्रेस नेताको दाबीपछि सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको टोली हुम्ला पठाएर स्थलगत अध्ययन गरेको थियो। उक्त टोलीले फिल्ड भिजिटपछि तयार गरेको प्रतिवेदनमा किटानीसाथ सीमा मिचिएको उल्लेख छैन।

    तर सीमामा केही समस्या रहेको र त्यसलाई सल्ट्याउन चीनसँग संयुक्त अनुगमन आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।

    नेपालले हुम्लामा देखिएको सीमा समस्या अध्ययन गर्न कार्यदल बनाएपछि नेपालस्थित चिनियाँ दूतावासले कुनै सीमा विवाद नरहेको प्रतिक्रिया दिएको थियो।

    चीनले तिब्बतसँग सीमा जोडिएका नेपालका उत्तरी जिल्लामा विभिन्न खालका सहयोग गर्दै आएको छ। चिनियाँ पक्षले तिब्बतीहरु नेपाल पसेर गर्नसक्ने चीनविरोधी गतिविधिको निगरानी राख्ने गर्छ।

    भारतबाट नेपाल छिरेर तिनले सीमा क्षेत्रमा फ्री तिब्बत गतिविधि गरे त्यसले आफ्नो राष्ट्रिय सुरक्षामा आँच आउने चिनियाँ पक्षको भनाइ छ। नेपालले एक चीन नीतिअनुसार नेपालमा हुने चीनविरोधी गतिविधि नियन्त्रण गरिरहेको छ।

    नयाँ कानुन चिनियाँ संसद्को स्ट्यान्डिङ कमिटीको बन्द सत्रबाट गत शनिबार पारित भएको थियो। उक्त कानुनमा चीनको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुग्ण राख्न सरकारले पहल गर्नुपर्ने उल्लेख छ।

    त्यस्तै, सीमाबाट भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि आँच आउनसक्ने गतिविधि रोक्न आवश्यक उपाय अबलम्बन गर्न चीन सरकारलाई निर्देशन दिइएको छ। सीमा रक्षाका लागि सबै उपाय अपनाउन चीन सरकारले उक्त कानुनले सुझाएको छ।

    कानुनमा चीनले सीमाक्षेत्रमा सार्वजनिक सेवा तथा पूर्वाधार विकासमा जोड दिने र सर्वसाधारण जनताको जीवनस्तर उकास्न प्रोत्साहित गर्नुपर्ने, सामाजिक तथा आर्थिक विकास र सीमा रक्षालाई समन्वय गरी अघि बढाउनुपर्ने उल्लेख छ। उक्त कानुनको पूर्ण पाठ अहिलेसम्म सार्वजनिक भएको छैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस