कात्तिक ५, २०७८
चौतारा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहिबार सुकुटे पुगेका छन्। पारिवारिक र राजनीतिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन प्रचण्ड सुकुटे पुगेका हुन्।
बिहिबार दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी बीच रिसोर्टमा
पुगेका छन्।
होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर (र्याफ्टिङ) समेत गरेका छन्। प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाइसिएल पूर्व अध्यक्ष दीपशिखासमेत छन्।
तीनै जना सिन्धुपाल्चोककै माओवादी नेता हुन्। यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी बीच रिसोर्टमा बसेका हुन्। शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ।
तर, यो प्रचण्डको पहिलो सुकुटे यात्रा होइन ।
जबजब राजनीतिक दबाब बढ्दै जान्छ, प्रचण्डको पहिलो रोजाइ सुकुटे हुने गर्दछ। र, यसअघि जब नेपाली राजनीति वा उनको पार्टी राजनीतिमा कुनै ट्विस्ट एन्ड टर्न आएको छ, प्रचण्ड सुकुटे पुगिहालेका छन् ।
यसलाई उनी रिफ्रेस हुन सुकुटे बीच जान्छन् भन्ने पनि गरिएको छ । राजनीतिक दबाब, चाप र थकान महसुस हुँदा, प्रचण्डले यसअघि बारम्बार सुकुटे बीचमा ‘बिदा’ मनाएका छन् ।
मोहन वैद्यसहितको पार्टी हुँदा माओवादीमा अन्तर्विरोध चर्किएको बेला होस् या त्यति बेला बाबुराम भट्टराईसँग परेको खटपटको समयमा नै किन नहोस्, प्रचण्ड सुकुटे बीच पुगेका छन् । त्यहाँ पुगेर उनले महत्वपूर्ण निर्णय पनि गरेका छन् ।
खुला राजनीतिमा आएपछि प्रचण्ड सुकुटे बीच पुगेको यो १४ औं पटक हो ।
सबैभन्दा पहिले प्रचण्डलाई सभामुख अग्नि सापकोटाले सुकुटे बीच पुर्याएका थिए । तर, अहिले सापकोटा सभामुख भएकाले प्रचण्ड यसपटक उनलाई नलिई सुकुटे पुगेका छन् ।
यसअघिका प्रचण्डका सबै भ्रमणमा सापकोटा पनि उनीसँगै सुकुटे बीच पुग्ने गरेका थिए ।
सापकोटाले नै पहिलो पटक प्रचण्डलाई सुकुटे बीचसँग परिचय गराएका थिए । प्रचण्ड पहिलो पटक २०६३ सालमा सापकोटासँग सुकुटे बीच पुगेका थिए ।
त्यसको पाँच वर्षपछि २०६८ साल असोज ८ मा पनि प्रचण्ड सुकुटेबीच पुगेका थिए । त्यसपछि उनको सुकुटे यात्रा अलिक बाक्लिन थाल्यो ।
पछि तत्कालीन एमालेसँग पार्टी एकता गर्ने सन्दर्भमा पनि प्रचण्ड सुकुटे बीच पुगेका थिए । त्यसपछि मात्र उनले पार्टी एकताका लागि आफू तयार रहेको अभिव्यक्ति दिन थालेका थिए र त्यसलाई अझ गहिरो तरिकामा अगाडि बढाउन पनि दबाब दिँदै आएका थिए ।
कतिसम्म भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताबारे वार्ता चलिरहँदा पनि प्रचण्ड सुटुक्क सुकुटे बीच पुगेका थिए ।
‘त्यहाँ गएपछि केही महत्वपूर्ण निर्णय आउन सक्ने यसअघि पनि बारम्बार महसुस गरिएको छ,’ प्रचण्डनिकट एक नेता भन्छन्, ‘यसपटक पनि प्रचण्ड त्यहाँ पुग्दा केही नयाँ र महत्वपूर्ण निर्णय आउने अनुमान गर्न सकिन्छ ।’
अहिले पनि गठबन्धन जोगाउन र एमालेसँग प्रतिस्पर्धाको लागि प्रचण्डलाई तिव्र दबाव छ। यता, पारिवारिक पनि उस्तै।
यहीबीच प्रचण्डको यो सुकुटे यात्रालाई विशेष महत्वका साथ हेरिएको छ । उनले त्यहाँबाट फर्किएर गर्ने राजनीतिक निर्णयले नेपाली राजनीतिमा लामो समयसम्म प्रभाव पार्न सक्ने अनुमान नेताहरुले गर्न गरेका छन्।
प्रतिक्रिया दिनुहोस