असोज २३, २०७८
भक्तपुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन्।
माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिबले निर्वाचनमा भाग लिन नसक्ने अवस्था आएकाले मुलुक पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका हुन्। उनले शासकीय स्वरुप र संविधान संशोधनका विषयमा पनि बहसमा लैजानुपर्नेमा जोड दिए। ‘मुलुक अब पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ।
हामी शासकीय स्वरुप र संविधान संशोधनको विषयलाई पनि अब बिस्तारै बहसमा उठाएर जनताको आधारभूत वर्गसँग नजिकबाट एकाकार हुने कुरा गर्दैछौं,’ उनले भने। उनले पार्टीको आगामी राष्ट्रिय सम्मेलनबाट विचारमा, राजनीतिमा, संगठनमा नयाँ ढंगले अघि बढेर आगामी निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने उद्घोष समेत गरे।
उनले आगामी निर्वाचनमा सहकार्यका लागि मित्रशक्ति खोजिरहेको खुलासा गरे। उनले भने, ‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता स्वाधिनताको पक्षमा हुने पार्टीहरूसँग सहकार्य गर्ने भनेका छौं।’
प्रचण्डले अहिलेको गठबन्धन त्यही सहकार्यको परिणाम भएको बताउँदै यसलाई आगामी निर्वाचनसम्म लैजाने सहमति भएको पनि बताए। अहिले हरेक पार्टीभित्रको समस्याको हल नेकपा माओवादी केन्द्रले गर्नुपरेको दाबी गर्दै दाहालले राष्ट्रको नेतृत्व माओवादी केन्द्रले गर्नुको विकल्प नभएको बताए।
प्रतिक्रिया दिनुहोस