असोज १७, २०७८
चौतारा : नेपाली कांग्रेसको दशैँलगत्तै पालिका र जिल्ला अधिवेशन हुने भएको छ। नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण कार्यक्रममा बोल्दै सभापति विकास लामाले दशैँलगत्तै अधिवेशन गर्ने तयारी रहेको बताएका हुन्।
जुगल गाउँपालिकामा वडा अधिवेशनको बेलामा स्थानीयबीच् खुकुरी प्रहार भएपछि गाउँ पालिका अधिवेशन अनिश्चित रुपमा स्थगित भएको थियो।
राहत वितरण
मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद सात लाख ५० हजार वितरण गरिएको छ ।
उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङका संयोजकत्वमा कांग्रेस जिल्ला सभापति विकास लामा, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ, जिल्ला सदस्यद्वय पेम्बा ग्यालजेन शेर्पा र सिपी चौलगाईँ, युवानेता राजेन्द्रबहादुर गोर्खाली, जिल्ला सदस्य गणेशविक्रम सिलवाल, क्षेत्रीय सदस्य किरणदीप खड्का, क्षेत्रीय प्रतिनिधि कुमार दुलाललगायतका उपस्थितिमा राहतस्वरुप वितरण गरिएको हो ।
गत असार १ र साउन १६ मा मेलम्ची हेलम्बु नदीमा आएको बाढीले घर बगाएकाहरुलाई मात्रै नगद सहयोग गरिएको र जग्गा तथा पसल बगाएकालाई अर्को व्यवस्था गरिने क्षेत्रीय सभापति तामाङले जानकारी दिए ।
राहत वितरणअन्तर्गत मेलम्ची बजारमा ४६ घरपरिवारलाई रु चार हजारका दरले नगद वितरण गरिएको थियो भने तालामाराङमा एकमुष्ट रु एक लाख नगद वडा सभापतिलाई जिम्मा लगाइएको थियो।
त्यस्तै हेलम्बु लागि एकमुष्ट तीन लाख ५० हजार प्रत्येक वडाका सभापतिलाई जिम्मा लगाइएको र मेलम्ची–५ सिन्धुकोटका पहिरापीडित पाँच घरधुरीलाई रु चार हजारका दरले नगद रु २० हजार सहयोग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस