२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

ग्रामीण विकासको लागि सहकारी एउटा खम्बा : पूर्वमन्त्री दुलाल

  • २०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • असाेज १५, २०७८

    चाैतारा : बागमती प्रदेशसभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले सहकारीअवधारणाले सेयर धनीलाई मात्र नभएर राष्ट्रलाई समेत आर्थिक उन्नतिमा लाने बताएका छन् । आफू र आफ्नाे देशलाई समृद्ध बनाउन हरेक नागरिकलाई सहकारीमा आबद्ध गराउनुपर्ने उनले बताए ।

    शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभामालाई सम्बोधन गर्दै दुलालले ग्रामीण विकासको लागि सहकारी एउटा खम्बा भएको बताए ।

    ‘देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न नयाँ कार्यक्रम र योजना अघि बढाउन जरुरी छ’, दुलालले भने– ‘सहकारीले ग्रामीण क्षेत्रको नागरिकको आर्थिक उपार्जनमा गरेको सहयोग सम्मानयोग्य छ, संस्थाको गरिमालाई अझ उचाईमा पुर्याउनको लागि शुभकामना व्यक्त गर्छु ।

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सहकारीमा आबद्ध नागरिकले उत्पादन गरेका कृषि उपजहरुको बजारिकरण गर्न नगरले सहयोग गर्ने बताए ।

    ‘नगरले स्थानीय उत्पादनसँग जोड्न विभिन्न योजनाहरु ल्याएको छ’, तामाङले भने– ‘ति योजनाहरुको उपयोग गर्न म अनुरोध पनि गर्दछु ।’ एक घर एक सहकारी नगरको लक्ष्य भएका कारण सहकारीको विकास र सुदृढिकरणमा समेत सहकार्य गर्ने उनले बताए ।

    साधारणसभालाई चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडा अध्यक्ष उमाप्रसाद दुलाल, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठ, इन्सेक प्रतिनिधि नातिबाबु धिताल, सिद्धिगणेश माविका प्रधानाध्यापक राजकुमार यादव, सिएमए संघका केदारनाथ दुलाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

    साधारणसभामा चालु आ.ब.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बालकृष्ण लामिछानेले ७ करोड ३४ लाख ५ हजार ४ सय २६ रुपैंया आम्दानी गरेको बताए ।

    सहकारीले चालु वर्षमा ९ करोड ४३ लाख १० हजार रुपैंया आम्दानी गर्ने प्रक्षेपण गरेको छ । सहकारीमा ५ सय ६० जना शेयर सदस्यहरु रहेका छन् । गतवर्ष भन्दा सहकारीले ३० दशमलव ६२ प्रतिशतले निक्षेप दायित्व बृद्धि गर्न सफल भएको सहकारीका कोषाध्यक्ष जगतप्रसाद चौलागाईंले बताए । उनका अनुसार सहकारीले गतवर्ष ३ करोड ३२ लाख २ हजार १ सय ५० रुपैंया निक्षेप दायित्व रहेको थियो ।

    आम्दानी अन्र्तगत ६ करोड ८१ लाख ९ हजार ५ सय ६५ रुपैंया कर्जा लगानी ब्याजबाट, ५ लाख १४ हजार ४ सय ११ रुपैंया सञ्चालन आम्दानीबाट, ४ हजार ८ सय श्रपैंया खाताबन्द तथा फर्म शुल्कबाट र अन्य आम्दानीबाट ६ हजार ६ सय ५० रुपैंया रहेको बताए । सहकारीले ३ करोड २४ लाख ३ हजार ३ सय ३९ रुपैंया खर्च गरी ४ करोड १० लाख २ हजार ३७ रुपैंया कुल आम्दानी गरेको छ ।

    साधारण सभाले चालु आर्थिक वर्षमा शेयर सदस्यहरुको मृत्यु भएमा ५ हजार रुपैंया प्रदान गर्ने, कोपिला बचतमा आबद्ध वचतकर्ताहरुलाई जन्मदिनमा शुभकामनासहित केक उपलब्ध गराउने, शेयर सदस्यहरुको बिमा गर्ने, सीपमूलक तालिमहरु प्रदान गर्ने, जिल्ला सदरमुकाम चौतारामा सेवा कार्यालय स्थापना गर्ने निर्णय पारित गरेको छ ।

    ‘समाजको आर्थिक अवस्था सुधार गर्नुका साथै सदस्यहरुको आर्थिक अवस्थालाई सुधार गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ’, साधारणसभामा सहकारी संस्थाका सचिव कमलप्रसाद दुलालले भने– ‘हामीले विगतका वर्षहरुमा झैं सदस्यहरुलाई उचित प्रतिफलसहित बचत र कर्जा सापटीको अधिकतम सुविधा प्रदान गर्नेछौं ।’

    चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा मात्रै कार्य क्षेत्र रहेको सहकारीले दशैं पछाडिबाट नगरपालिकाभर कार्यक्षेत्र विस्तार गर्ने उनले बताए ।

    सो अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलगायतलाई सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस