असोज १०, २०७८
चौतारा : मेलम्ची नदीमा बाढी आएर बेलिब्रिज बगाएको तीन महिना पुग्दा पनि नयाँ संरचना बनेका छैनन्। गत असार १ गते बाढी आउँदा त्यहाँ रहेका तीन वटा बेलिब्रिज मेलम्ची नदीले बगाएको थियो।
जसमध्ये चनौटेको बेलिब्रिज मुख्य हो। हिउँदको मौसम सुरू भए पनि बेलिब्रिज नबन्दा स्थानीयले हैरानी पाएका छन्।
उनीहरूले चनौटेमा रुख तेर्स्याएर मेलम्ची नदी वारपार गरिरहेका छन्। मेलम्ची खानेपानी आयोजनाका अनुसार चनौटेसहित चार स्थानमा बेलिब्रिज निर्माण गर्नुपर्ने भएको छ।
तर, बीचमा वर्षा नरोकिएका कारण बेलिब्रिज निर्माणको काम अगाडि बढेन।
अहिले बेलिब्रिज निर्माणका लागि खानेपानी मन्त्रालय, सडक विभाग, सिँचाइ मन्त्रालय, नेपाली सेना र मेलम्ची खानेपानी आयोजनाबीच समन्वय भइरहेको बताइएको छ।
‘बेलिब्रिज निर्माण गर्ने कुरामा सम्बन्धित निकायबीच सहमति भइसकेको छ, त्यो सहमति मन्त्रिपरिषदमा पठाउन बाँकी छ,’ मेलम्ची खानेपानी आयोजनाका डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले भने।
सहमति अनुसार चनौटेमा ४८ मिटर लामो बेलिब्रिज निर्माण गरिने छ। त्यहाँ पहिले ४० मिटर लामो पुल थियो।
नदीले नयाँ धार र आकार बनाएकाले स्थानीयले पनि पुलको लम्बाइ बढाउनुपर्ने माग गरेको पन्तले बताए।
सहमतिमा सडक विभागले पुलको संरचना कस्तो बनाउने भन्ने टुंग्याउने छ र नेपाली सेनाले पुल जडान गर्ने छ।
‘सामग्रीहरू खरिद गर्नुपर्ने हुन्छ, सरकारले जति चाँडो निर्णय गरेर खरिदको काम अघि बढाउँछ त्यति छिटो बेलिब्रिज निर्माण हुन्छ,’ पन्तले भने।
मेलम्चीमा हेडवर्क्स क्षेत्रसहित चार ठाउँमा बेलिब्रिज निर्माण गर्नुपर्ने छ। त्यमध्ये चनौटेको मुख्य हो।
‘चनौटेमा बेलिब्रिज निर्माणपछि अन्य ठाउँमा बन्ने बाटो खुल्छ,’ पन्तले भने, ‘एकदमै शीघ्र गर्नुपर्ने काम हो, यो गर्नका लागि सामग्री खरिद प्रक्रिया पनि चाँडो भइदिनुपरो।’
मेलम्ची खानेपानी आयोजनामा भत्किएका र पुरिएका संरचना बनाएर चैत महिनासम्ममा पुन: काठमाडौंमा पानी झार्ने सरकारको योजना छ।
मेलम्चीमाथि थेग्रिनी जम्मा भएको ठाउँलाई दीर्घकालीन नियन्त्रण गर्नु मुख्य चुनौती छ। त्यो क्षेत्र अध्ययनका लागि खानेपानी मन्त्रालयले एसियाली विकास बैंकको विज्ञ टोलीलाई गुहारेको छ।
दुबै निकायबीच अध्ययनका लागि सहमति पनि भइसकेको छ।
तस्बिर : दीपकिरण खड्का
प्रतिक्रिया दिनुहोस