असोज ९, २०७८
चौतारा : बाढीले क्षति पुर्याएको तीन महिनापछि मेलम्ची खानेपानी आयोजना मर्मतको काम सुरु भएको छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई आयोजनाको हेडवर्क्स (मुख्य बाँधस्थल) सम्म सडक खोल्ने काम सुरु भएको जनाएको हो।
गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितका अनुसार एक साता अघिदेखि ग्यालथुमबाट आयोजनाको हेडवर्क्ससम्म पुग्ने सडकको काम भइरहेको छ।
‘गाउँपालिकाले बाटो खोलिदिने काम सुरु गरेको छ,स्काभेटरलगायत अन्य प्रविधि भएर निरन्तर काम भएमा १५ दिनसम्ममा बाटो बनाएर सकिन्छ,’उनले भनिन्।
गत असारमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। पछि साउन १६ र १७ गते आएको बाढीले पनि आयोजनासम्म पुग्ने पुल नै बगाएको थियो।
खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेका अनुसार सडकको ट्रयाक खुलेपछि प्राविधिक टोलीसहित पानीको सुरुङ र हेडवर्क्समा गएर अनुगमन गरिने छ।
‘आयोजनाको मर्मत थालिएको छ,’ न्यौपानेले भने,‘अहिले उपभोक्ताले मात्र काम गरिरहेका छन्,नेपाली सेनालाई पनि काममा संलग्नता गराउने की भन्ने विषयमा छलफल गरिरहेका छौँ, केही दिनमा टुंगो हुन्छ।’ उनका अनुसार सेनालाई पनि काम गर्न दिएमा छिट्टै मोटरेबल बाटो खोल्ने काम सकिने छ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाढीका कारण खानेपानीको हेडवर्क्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको उनको भनाई छ। बाढीले १ अर्ब रूपैयाँभन्दा बढीको आयोजनामा क्षति पुर्याएको उनको आकलन छ।
प्रतिक्रिया दिनुहोस