भदौ २८, २०७८
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बिस्तारै आफू एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। उनले आफूलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ–त्से–तुङसँग तुलना गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्।
चिनियाँ नेता माओ जीवनको अन्त्यतिर एक्लिएको दृष्टान्ट दिँदै प्रचण्डले आफूलाई पनि १/२ वर्षपछि यस्तै अवस्थामा पुगिने हो कि भन्ने चिन्ता कहिलेकाहीं लाग्ने गरेको बताए। काठमाडौंमा आइतबार भएको ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ पुस्तकको विमोचनमा उनले कहिलेकाहीं त्यस्तो चिन्तf लाग्ने गरेको उल्लेख गरे।
उनले भने, ‘कहिलेकाहीं मलाई पनि यस्तै हुन्। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि? र माओले भनेजस्तै म एक्लो हुँ भन्नुपर्ने हो कि? तपाईंहरूले यो पनि चिन्तनमनन गरिदिनु होला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाको सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो ? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंशा खोजेको कुरो हो र यो!’
प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन यसको इतिहासको सही समीक्षा गर्नुपर्ने आवश्यक्ता औंल्याए।
आफूले अझै कम्युनिष्ट आन्दोलन एकताबद्ध गरेर अघि बढन चाहेको पनि उनले बारम्बार दोहोर्याए।
प्रतिक्रिया दिनुहोस