२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बलेफी-तेम्बाथान सडक तोकिएकै समयमा निर्माण सक्न निर्देशन

  • २०७८ भाद्र २२, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ २२, २०७८

    चौतारा : राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले तोकिएको समयसिमा भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरिक्षणपछि फुयालले सडक निर्माण पक्षलाई निर्देशन दिएका हुन्।

    आयोगका सदस्य फुयाल, सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेसिक सडक डिभिजन कार्यालय खुर्कोटबाट खटिएका ईन्जिनियर एवं प्राविधिक सहितको टोलिले निर्माणाधिन सडकको विस्तृत निरिक्षण गरेको हो ।

    अरनिको राजमार्ग अन्तरगतको बलेफी बजारदेखि नौबिसे सडक खण्ड र जलबिरे देखि कात्तिके सडक खण्डको जुगल गाउँपालिका अन्तरगतको ढाँडे हुँदै गणेश खोलासम्मको स्थलगत निरिक्षणका क्रममा निर्माण कार्यमा थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ ।

    निरिक्षणका क्रममा सदस्य फुयालले जलबिरे कात्तिके सडक खण्डका लागि ठेक्का पाएको निर्माण पक्षलाई डिपिआर, ड्रोइङ र डिजाइन अनुसार निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए।

    उनले ढाँडे–कात्तिके सडक खण्डको कुम्भेश्वर वारीपट्टिको खण्ड देखि गणेश खोला सम्मको भाग निकै जोखिपूर्ण देखिएको बताउँदै सो क्षेत्रमा बलियो निर्माणका लागि थप उपायहरु अवलम्बन गर्न निर्माण पक्ष र प्राविधिक सहयोग गर्न सरकारी प्राविधिकहरुलाई निर्देशन समेत दिए।

    सडक डिभिजन कार्यालयकी ईन्जिनियर मैना राइले सो क्षेत्रमा लगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताउँदै माथिल्लो भाग देखि नै ठूलो क्षेत्र भासिएकोले बेलैमा सतर्क हुनु पर्ने अवस्था आएको बताए।

    बलेफी नौबिसे सडक खण्डको निर्माणको ठेक्का पाएको निर्माण पक्षसँग जँगारे क्षेत्रमा भएको छलफलमा पनि सदस्य फुयालले डिपिआर, ड्रोइङ र डिजाइन अनुसार काम गर्न कडा निर्देशन दिए।

    आफु सभामुख अग्निप्रसाद सापकोटासँगको समन्वयमा सडक निर्माणको स्थलगत निरिक्षणमा आएको जानकारी गराउँदै सदस्य फुयालले तोकिएको मापदण्ड र समय ख्याल गरेर निर्माण लाग्नु पर्नेमा जोड दिए।

    केही सय पछि प्राविधिक टोलि सहित फेरि विस्तृत निरिक्षण गरिने जानकारी दिंदै तोकिएको मापदण्ड पुरा गरेको नपाइए संलग्न सबै पक्ष कारबाहीको भागिदार हुने तर्फ सचेत गराए।

    सदस्य फुयालले बर्षातको समय सकिदै गएकोले कामलाई तिब्रता दिन निर्देशन दिदै समयमै कार्य सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।

    भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पहाडहरुमा यो बर्ष पनि ठूला साना गरि सयौं पहिरो र बाढीका कारण थुपै भित्रि सडकहरु अबरुद्ध हुन पुगेका छन् । निर्माण पक्षको लापरबाही र सरकारी संयन्त्रको फितलो अनुगमनका कारण सर्वसाधारणले भने बर्षेनी सास्ती भोग्नु परेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस