२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

स्थानीयका समस्या बुझ्न टोल टोलमा पुग्छन् चौताराका मेयर अमानसिं

  • २०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ १५, २०७८

    चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको जनतासँग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ। मेयर आफैं टोल टोलमा पुगेर जनतासँग प्रत्यक्ष भेटेर त्यहाँका आवश्यकता पहिचान गरी तुरुन्तै बजेटसमेत विनियोजन गरिदिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको हो।

    नगरपालिकाले कार्यक्रम गत वर्ष सुरु गरेको हो। जनप्रतिनिधिले योजना छानेर रकम विनियोजन गर्ने र योजनाले स्थानीयका वास्तविक समस्या समाधान गर्न नसक्ने भएपछि मेयर अमानसिं तामाङ आफैं जनतासम्म पुगेर आवश्यकता सोध्न थालेका हुन्। 

    स्थानीयका आवश्यकतामा मेयर तामाङले सीमित बजेटअनुसार केही योजनामा तत्काल र केहीमा कार्यालय आएर प्राविधिक जाँच गरेर बजेट विनियोजन गरिदिने गरेका छन्। 

    चालु आवको सातौं कार्यक्रम नगरको वडा नं. ८ इर्खुको चौकीडाँडामा सोमबार आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीयले चौकीडाँडामा तामाङ समुदायको पहिचान जनाउने छ्योर्तेन निर्माण गरिदिन आग्रह गरेपछि मेयर तामाङले त्यसका लागि ६ लाख रूपैयाँ दिने घोषणा गरे। 

    ‘छ्योर्तेन निर्माणका लागि तपाईंहरू पनि केही रकम संकलन गर्नुस् र ६ लाख रूपैयाँ म नगरपालिकाबाट विनियोजन गर्दछु,’ मेयर तामाङले भने, ‘अझै रकम अभाव भयो भने थप रकमका लागि हामी फेरि छलफल गरेर निर्णय गरौंला।’ 

    आफ्नोसमेत रकम परेपछि स्थानीयमा विकासप्रति अपनत्व हुने भएकोले स्थानीयले आफूले सकेको रकम सहयोग गर्नुपर्ने मेयरको धारणा थियो। नगद सहयोग गर्न नसक्नेले श्रमदान गरेर भए पनि केही न केही लगानी अनिवार्य गर्नसमेत उनले अनुरोध गरे। 

    कार्यक्रममा इर्खुमै तामाङ जातिको इतिहास जोगाइराख्ने बोम्पो (झाँक्री) को सालिक बनाउनसमेत छलफल भएको थियो भने बाँझबिसौना डाँडामा प्रतीक्षालय निर्माण गर्न प्राविधिक लागत अनुमानका आधारमा रकम विनियोजन गरी दशैंभन्दा अगाडी नै निर्माण गरिसक्ने निर्णय भएको छ।

    बाँझबिसौनामा प्रतीक्षालय नहुँदा काठमाडाैं-चौतारा आउजाउ गर्ने तथा त्यहाँबाट आवतजावत गर्ने धेरैले बर्खामा ठूलो समस्या झेल्दै आएका छन्।

    यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधिबीच दूरी घटाउन सघाउने स्थानीयको भनाइ छ। आफ्ना योजना लिएर नगरपालिकाको कार्यालय धाउन नसक्नेले मेयरलाई टोलमै भेटेर आफ्ना गुनासा राख्ने मौका पाएको स्थानीय चिनबहादुर तामाङले बताए।

    टोलमा मेयर आएपछि आफ्नो कला, संस्कृति र तामाङ पहिचान जोगाउने विभिन्न कार्यक्रम सञ्चालन गर्न मेयरसँग आग्रह गरेको उनले  बताए।  

    यस्ता कार्यक्रममा स्थानीयले मेयरलाई स्वागत गर्ने र आफ्ना गुनासा निर्धक्क राख्ने गरेको आफूले पाएको नगरपालिकाका कार्यपालिका सदस्य सागर परियारले बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस