२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सिन्धुपाल्चोकका माधव नेपाल निकटका अधिकांश नेताले साथ छाडे

  • २०७८ भाद्र १२, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ १२, २०७८

    चौतारा : सिन्धुपाल्चोकका माधव नेपाल पक्षका अधिकांश नेताहरु एमालेमै रहने भएका छन्। नेता नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै अधिकांश नेताहरु एमालेमै रहने भएका हुन्।

    यसअघि नेता नेपालको बलियो मानिएको सिन्धुपाल्चोकमा पार्टी विभाजनको पक्षमा अधिकांश नेताहरु नउभिएपछि कमजोर बनेका छन्। नेता नेपालले पार्टी विभाजन गरेपछि सिन्धुपाल्चोकका नेताहरुको काठमाडौमा शनिबार बसेको भेलाले एमालेलाई पहिलो पार्टी बनाउने साझा निष्कर्ष निकालेका छन्।

    नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, पोलीटब्युरो सदस्य अरुण नेपाललगायतका नेताहरुको सहभागीतामा बसेको बैठकले पार्टीलाई एकताबद्ध बताएर जाने साझा निष्कर्ष निकालेका हुन्।

    नेता नेपालको बलियो मानिएको सिन्धुपाल्चोकमा राष्ट्रियसभाका सांसद सिंहबहादुर विक मात्रै साथ दिएका छन्। अर्का प्रदेश सांसद इन्द्रमाया गुरुङले भने अहिलेसम्म कतै खुलेकी छैनन्। यता, संघीय सांसद शेरबहादुर तामाङले साविक नेकपा हुँदै नेता नेपालको साथ छाडेका थिए।

    सिन्धुपाल्चोकका १२ स्थानीय तहसध्ये सातवटामा एमालेले जितेको थियो। यसअघि जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तान मात्रै अध्यक्ष केपी ओली पक्षमा थिए।

    तर, नेता नेपालले पार्टी विभाजन गरेपछि केन्द्रीय नेताहरु एमालेमा नै रहने भएपछि अधिकाश नेताहरुले साथ छाडेका छन्।

    यसअघि नेता नेपाल समूहमा रहेका बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रिन, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले पनि साथ छाडेका छन्।

    माधव नेपाल एमालेमा नै रहँदा आफूहरु नेपाल विचार समूहमा भएपनि विभाजन भएको पार्टीमा भने नजाने नेपालको भनाई छ। उनी ०७५ जेठ २ अघिको एमालेका जिल्ला सचिव हुन्।

    यस्तै, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री सबै नेताहरुसँगको छलफलपछि सामूहिक निर्णय गरिने बताउँछन्।

    त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र उपाध्यक्ष दुर्गादेवी नेपाल पनि एमालेमा नै रहने भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो र उपाध्यक्ष सुनिता अधिकारी पनि गाउँपालिका भित्रका अगुवाहरुसँग छलफल गरेर निर्णय लिने मनस्थितीमा छन्।

    मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल आफूहरु छलफल गरेर निर्णय लिने बताए। जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ, मेलम्चीकी उपमेयर भगवती नेपाल, बलेफीकी उपाध्यक्ष कमला कायस्थ पनि एमालेमै रहने भएका छन्।

    नेता नेपालको बलियो जिल्लामा रहेको सिन्धुपाल्चोकमा पार्टी विभाजनको क्रममा अधिकांश नेताले साथ छाडेका छन्। यसअघि सिन्धुपाल्चोकमा अध्यक्ष ओली खेमा कमजोर थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस